काठमाडौं- सरकारले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले पाएको करिब १३ करोड नेपाली रुपैयाँ बराबरको प्रतिष्ठित इसा अवार्डमा कर छुट दिने भएको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै डा रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलर (करिब १३ करोड नेपाली रुपैयाँ) मा कर छुट दिने निर्णय भएको जानकारी दिएको हो।
सरकारले आर्थिक ऐन २०७९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी डा सन्दुक रुइतलाई बहराइनस्थित इसा अवार्ड ट्रस्टले प्रदान गर्ने इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड साथ प्राप्त हुने अमेरिकी डलर दश लाख (एक मिलिएन) रकममा लाग्ने कर छुट दिने निर्णय मिति २०७९ फागुन ११ गते गरेकाले यो सूचना प्रकाशित गरिएको छ,' हिजो सोमबार प्रकाशित राजपत्रमा उल्लेख छ।
कानुनअनुसार आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ। आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ। तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ। डा रुइतलाई सोही अनुसार छुट दिने निर्णय भएको हो।
'इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले मंगलबार डा रुइतलाई उक्त अवार्ड प्रदान गर्न लागिएको घोषणा गत माघमा गरेको थियो।
बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड हरेक दुई वर्षमा प्रदान गरिँदै आइरहेको छ। यो पटक डा रुइतलाई प्रदान गर्ने निर्णय भएको संस्थाले जनाएको छ। यो अवार्ड सन् २००९ मा स्थापना भएको हो। तर वितरण भने सन् २०१३ देखि सुरु भएको हो।
'अवार्डको पाँचौं संस्करण अन्तर्गत सन् २०२३ मा डा सन्दुक रुइतलाई उक्त अवार्ड प्रदान गरिनेछ। अवार्डसँगै डा रुइतले १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँभन्दा बढी रकम, गोल्ड मेडल र प्रमाणपत्र समेत प्रदान गरिने छ,' संस्थाले सार्वजनिक गरेको जानकारीमा उल्लेख छ।
घोषणा लगत्तै स्वास्थ्यखबरसँग कुरा गर्दै डा रुइतले 'यो प्रतिष्ठित अवार्ड पाउँदा निकै खुसी लागेको छ। नेपालीको छोराले यो अवार्ड पाउनु सानो कुरा होइन। यो अवार्डले विश्वमा नेपालीको आत्मसम्मान बढाउन मद्दत गर्छ' भनेर प्रतिक्रिया दिएका थिए।
डा रुइतले अन्धोपन निवारणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको बहराइनका राजपरिवारका सदस्य शेख मो बिन मुबारक अल खालिफाले जानकारी दिएका छन्।
उक्त अवार्डका लागि १३९ जना व्यक्ति र संस्थाहरु छनोटमा परेका थिए। जसमध्ये छनोट समितिले सुरुमा ६ जना संस्था/व्यक्ति छनोट गरेको थियो। अमेरिकास्थित मर्सी शिप, बंगालादेशको फ्रेन्ड्सशिप एनजीओ, गरिबको हितमा सक्रिय कोलम्बियाली क्यामिलो जोस हेरेया, वातावरण संरक्षणमा क्रियाशील केन्याकी न्जाम्बी माटी, स्वीटजरल्यान्डको जेनेभास्थित विश्व स्वास्थ्य संगठन फाउन्डेशन र नेपालका डा सन्दुक रुइत ५ जनाभित्र परेका थिए। उनीहरु सबैको विषयमा अध्ययन र उनीहरुको कामका विषयमा अध्ययन गरिसकेपछि डा रुइतलाई अवार्ड दिने निर्णय भएको हो।