काठमाडौं- भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन्।
गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० वर्षभन्दा माथिका रहेका बताइएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) को तथ्याङ्कअनुसार शुक्रबार र शनिबार देशका केही भागमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस पुगेको थियो।
यो सामान्यभन्दा ४.७ डिग्री सेल्सियस बढी हो। उत्तर प्रदेशको सबैभन्दा बढी प्रभावित जिल्ला बलिया हो। बलियाका प्रमुख स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन्, “सबै व्यक्ति केही न केही रोगबाट पीडित थिए र अत्यधिक गर्मीका कारण उनीहरुको अवस्था बिग्रिएको थियो। बिहीबार २३, शुक्रबार २० र शनिबार ११ जनाको मृत्यु भएको थियो।”