काठमाडौं- शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले इपोफिट नामक औषधिको शुल्क स्वास्थ्य बिमाले तोकेको मूल्यको आधारमा लिएको जनाएको छ। ती बिरामीले औषधि स्वास्थ्य बीमा अन्तर्गत लिएका कारण उक्त औषधिको मूल्य १४०५ रुपैयाँ परेको केन्द्रले जनाएको छ। केन्द्रको फार्मेसी विभागका एक कर्मचारीले स्वास्थ्य बिमाले निर्धारण गरेको औषधिको मूल्य नै लिएको बताए।
उनले भने, ‘१४०५ रुपैयाँ स्वास्थ्य बीमाले तोकेको शुल्क हो। बीमाले तोकेको शुल्क नै हामीले बिलिङ गर्छौ। जुनै अस्पतलामा गएपनि बिमा अन्तर्गत लिइने औषधिको शुल्क एउटै हुन्छ।’ स्वास्थ्य बीमाले निर्धारण गरेको शुल्क अनुसार नै आफूहरुले बिलिङ गर्नुपर्ने उनले बताए। यो औषधि बीमा नगराएका बिरामीले खरिद गर्दा भने ६३० रुपैयाँ पर्ने उनले जानकारी दिए।
‘यो सिस्टमबाट मिलाउनुपर्ने कुरा हो। बीमाले भनेका कुराहरुलाई हामीले चलाउन पनि मिल्दैन। बजारमा अध्ययन नगरी यसरी शुल्क निर्धारण हुन्छ।’ उनले भने।
सांसद डा तोसिमा कार्कीले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिरामीसँग औषधिको मूल्यमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको प्रतिनिधि सभाको बैठकमा बोलेकी थिइन्।
केन्द्रमा डायलाइसिस गराई रहेका बिरामीबाट अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत खरिद गरिएको औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताइन्। आठ सय रुपैयाँ पर्ने औषधिको शुल्क केन्द्रले १४ सय ५ रुपैयाँ लिएको बिल समेत सांसद कार्कीले संसदमा पेश गरेकी छिन्।