काठमाडौं- एमबीबीएस र बिडीएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू मौका परीक्षाको माग गर्दै रिले अनशनमा बसेका छन्। मौका परीक्षाको व्यवस्था नगरेको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थान(आईओएम) अन्तर्गतका निजी र आङ्गिक कलेजका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीहरू विगत २९ दिन देखि आईओएमको डीनको कार्यालय अगाडी अनसन बसिरहेका छन्।
आईओएमको नियमअनुसार एमबीबीएस र बिडीएसमा अध्ययनरत विद्यार्थीले दोस्रो वर्षमा नियमित परीक्षासहित चार पटक मौका परीक्षा दिन पाउँछन्। चार पटकमा पनि पास नहुने विद्यार्थीको भर्ना रद्द हुन्छ कलेजबाट निष्कासन हुनुपर्छ। डेढ वर्षको समयावधिमा तीन वटै पुरक परीक्षा हुन्छ।
अनसनरत विद्यार्थीहरू चार पटक परीक्षा दिँदा उत्तीर्ण गर्न नसकेकाहरू हुन्। उनीहरूले आइओएमसँग एक पटक फेरि मौका परीक्षाको माग गरिरहेका छन्। गण्डकी मेडिकल कलेजका विद्यार्थी राजीव दासका अनुसार करिब ३ सय विद्यार्थीहरू ब्यारियरमा परेका छन्। अन्तिम मौका परीक्षा कोरोनाको समयमा भएकाले पनि परीक्षा बिग्रिएको उनको दाबी छ। 'लकडाउनमा हामी घरमा अड्कियौँ। किताबहरू होस्टेलमै थियो। पढ्न पाईएन्। नेटको सुविधा पनि थिएन। घरका सबै बिरामी थिए। मैले मेरो घरको दुई जना सदस्य त त्यही समयमा गुमाउनु पर्यो। त्यस्तो अवस्थामा दिएको परीक्षा बिग्रियो,' उनले भने।
विद्यार्थीहरूका अनुसार आइओएमले २०७६ सालमा उनीहरू भन्दा सिनियर विद्यार्थीहरुलाई एक पटक मौका दिएको थियो। सोही नजिरका अनुसार उनीहरूले पनि मौका परीक्षा पाउनुपर्ने उनीहरूको दाबी छ।
परीक्षा नभए पैसा फिर्ता चाहिन्छ
अनशनमा बसेका विद्यार्थीहरूले मौका परीक्षाको अवसर नदिने हो भने पैसा तेस्रो, चौथो र पाचौं वर्षको शिक्षण शुल्क फिर्ता पाउनुपर्ने माग गरेका छन्। दास भन्छन्,' कलेजहरूले किस्तामा लिनुपर्ने पैसा पहिले नै सबै लिएको छ। अब की त हामीले मौका परीक्षा दिन पाउनुपर्यो की त पैसा फिर्ता हुनुपर्यो।
पैसा फिर्ता भयो भने आफूहरू अर्को विषय पढ्न सक्ने उनीहरूको बुझाई छ। अनसनरत अर्का विद्यार्थी भन्छन्,'प्रावधान अनुसार कलेजहरूले दोस्रो वर्षमा जम्मा ५० प्रतिशत सम्म मात्रै पैसा लिन मिल्छ तर हाम्रो त १०० प्रतिशत नै लिइएको छ। सरासर पढ्न पाएको भए अहिले हामी इन्टर्न गर्ने समय हुन्थ्यो। अब कम्तीमा पैसा फिर्ता आए अर्को विषय पढ्न सजिलो हुन्थ्यो।'
अब उनीहरुको माग कलेजले ४० प्रतिशत शुल्क कटाएर ६० प्रतिशत शुल्क फिर्ता होस् भन्ने छ।
के भन्छ आइओएम?
आईओएमका सहायक डीन डा प्रेम ज्ञवालीले यो विषयमा खुलेर कुरा गर्न चाहेनन्। यद्यपि उनले मौका परीक्षा हुन नसक्ने बताए। २०७६ सालमा भएको मौका परीक्षा एउटा गल्ती भएको भन्दै अर्को गल्ती नदोहोर्याउने उनले बताए। 'मौका परीक्षा अब सम्भव छैन। २०७६ सालमा एउटा गल्ती गरियो अब अर्को गल्ति हुँदैन्,'उनले भने।