काठमाडौं- सांसद डा तोसिमा कार्कीले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बिरामीसँग औषधिको मूल्यमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताएकी छिन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद डा कार्कीले केन्द्रमा डाइलाइसिस गराई रहेका बिरामीबाट अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत खरिद गरिएको औषधिमा ७५ प्रतिशतसम्म बढी शुल्क लिएको बताइन्। आठ सय रुपैयाँ पर्ने औषधिको शुल्क केन्द्रले १४ सय ५ रुपैयाँ लिएको बिल समेत सांसद कार्कीले संसदमा पेश गरेकी छिन्।
उक्त बिल संसदमा पेश गर्दै उनले भनिन्, ‘यो स्वास्थ्य बिमित डायलाइसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफिट नामक औषधिको बिक्रि मूल्य १४०५ छ। यसको खाली खोल पनि मसँग छ। जसमा अधिकतम खुद्रा बिक्रि मूल्य भारतीय पाँच रुपैया छ। अर्थात् नेपाली ८ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी लिइएको छ।’
स्वास्थ्य बिमाको नाममा राज्यले नै गरिब बिरामीसँग ठगी गरिरहेको डा कार्कीको आरोप छ। केन्द्रले संस्थाको नीतिगत ठगी गरेको भन्दै उनले बिरामीसँग ठगी गर्नेलाई तत्काल कारबाही गनुपर्ने माग गरेकी छिन्।
सांसद डा कार्कीले संसदमा बोलका कुराहरु :
निकै लाजमर्दो विषय उठान गर्दैछु। राज्यको ठगीको नमूना छ। मसँग शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको एउटा बिल छ। यो स्वास्थ्य बिमित डायलाइसिस गराइरहेका बिरामीको बिल हो। यसमा इपोफिट नामक औषधिको बिक्रि मूल्य १४०५ छ। यसको खाली खोल पनि मसँग छ। जसमा अधिकतम खुद्रा बिक्रि मूल्य भारतीय पाँच रुपैया छ। अर्थात् नेपाली ८ सय रुपैयाँ पर्न आउँछ। २० प्रतिशत अधिकतम पाउनेमा यहाँ ७५ प्रतिशत बढी लिइएको छ। मेरो प्रश्न छ, राज्यले कति नाफा खाएसम्म मात्र यो कालोबजारी नमानिने हो या मानिने हो ? यसरी संस्थागत रुपमै नागरिकलाई स्वास्थ्य बिमाबाट भुक्तानी हुन्छ भन्दैमा ठग्न मिल्छ ? हप्ताको तीन पटकसम्म डायलाइसिस गराउनुपर्ने गरिब नागरिकलाई राज्यले नै यसरी लुट्ने ? हाम्रो इमानधर्म कता तिर जाँदैछ ? स्वास्थ्य बिमा जस्तो महत्वपूर्ण सार्वजनिक विषयलाई धरासायी बनाउन निजी मात्र होइन सरकारी संस्थाको नीतिगत ठगी पनि जिम्मेवार छ। यस्ता ठगीलाई पनि तत्काल कारबाही गरियोस्।