दाङ- स्थापना भएको करिब ५ बर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सन्चालनमा आउन थालेका छन्। यो शैक्षिक सत्रमा प्रतिष्ठानले बिएससी नर्सिङ र बिएनएस कक्षा सन्चालनमा ल्याएको छ। प्रतिष्ठानले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा ती शैक्षिक कार्यक्रममा पठनपाठन सुरु भएको जानकारी दिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विकाश लामीछानेको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यमा शैक्षिक कार्यक्रम सन्चालनको जानकारी दिइएको हो।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन्चालनमा आएको पाँच वर्षमा नर्सिङ शिक्षाको कार्यक्रम सन्चालन गरेकोमा खुसी व्यक्त गरे। साथै उनले यहांको उत्पादन गुणस्तरीय भएर सवै स्थानमा विक्नेमा पनि उनले विश्वास व्यक्त गरे। ‘मलाइ विश्वास छ, यहाँ नर्सिङ पढाइकालागी भौतिक पुर्वाधारको राम्रो व्यवस्थापन छ, अनि यहां अध्यापन गराउने प्राध्यापकहरु पनि सक्षम र क्षमतावान हुनुहुन्छ, त्यसैले यहां अध्ययन पुरा गरेका विद्यार्थिहरुले सहजै रुपमा सवै क्षेत्रमा रोजगारी पाहुन सक्ने छन्’, समन्वय प्रमुख शर्माले भने।
केहि ढिलो भएपनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख तथा सिनेट सदस्य नरुलाल चौधरीले यो प्रतिष्ठानलाइ स्वास्थ्य सेवा लगायत स्वास्थ्य क्षेत्रका जनशक्तिको उत्पादनको अव्वल क्षेत्र बनाउन आफुनो निरन्तर प्रयास रहने बताए।
प्रतिष्ठानका उपकुलपति डा विकाश लामीछानेले अबको एक बर्षमा एमडीजीपी, एमडी तथा एमएस कक्षा सन्चालनकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार रहेको बताए। यद्धपि एमबीबीएस कक्षा सन्चालनमा भने अझै धेरै पुर्वाधारहरु तयार हुन बाँकी रहेको पनि उनले बताए। अहिले प्रतिष्ठानमा आएको बजेटले प्रतिष्ठानले निर्माण गरेको गुरुयोजना अनुसार ४ सय वेडको ७ तलाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने जानकारी दिए।
शैक्षिक कार्यक्रम सन्चालनको घोषणासभामा बोल्दै विश्वविद्यालयका शिक्षाध्यक्ष डा वशन्त लामिछानेले नव आगन्तुक विद्यार्थिहरुलाइ स्वागत गर्दै सवथोक औषधिले मात्र नहुने भएकाले विरामीलाइ चाँडो निको बनाउन नर्सिङ स्टाफको भुमिका अपरीहार्य हुने बताए।
कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ कोअर्डिनेटर प्राध्यापक अम्बिका पौडेलले नर्सिङ शिक्षाका सन्दर्भमा विशेष प्रवेश तथा स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। ‘हामीले करीव एक बर्ष लगाएर गुणस्तरीय पाठ्यक्रम निर्माण गरेका छौं, हाम्रा उत्पादन पनि दक्ष एवं क्षमतावान हुनेमा हामी विश्वस्त छौं’, प्राध्यापक पौडेलले भनिन्।
पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा बिएससी नर्सिङ तर्फ २० जना र बिएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन्। हरेक शेसनमा १५ जना नेपाल सरकारको छात्रवृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन्।