काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा पुन: समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान २ बजे अस्पताल महाराजगन्ज पुर्याइएको थियो। अहिले राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। अस्पतालले राष्ट्रपति पौडेल भर्ना भएको जानकारी विज्ञप्ती मार्फत दिएको छ। राष्ट्रपतिको पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकाले अस्पतालमा भर्ना गरिएको अस्पतालले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि गएको मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए। उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनी अस्वस्थ भएका हुन्।