काठमाडौं- नेपालमा पहिलो पटक एक जनामा मंकीपक्स भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमित फेला पारेको आधिकारिक जानकारी शुक्रबार सार्वजनिक गरेको हो। मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै मंकीपक्स भाइरस (एमपक्स) संक्रमण देखिएको जानकारी दिएका हुन्।
विज्ञप्ति अनुसार एक जना ६० वर्षीया विदेशी महिलामा मंकीपक्सको संक्रमण देखिएको हो। 'एक ६० वर्षीय विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि काठमाडौँको अस्पतालमा परीक्षण भइरहेको थियो। ती महिलाको शरीरबाट नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज एमपक्स सङ्क्रमण पुष्टि भएको हो,' विज्ञप्तिमा भनिएको छ।
मंकीपक्सको बारेमा थप खोज अनुसन्धान तथा उपचार जारी रहेको जनाइएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।
यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। यो एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।
मन्त्रालयले मंकीपक्सको संका लागेमा १११५ वा ११३३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ।
हेरौं विज्ञप्ति
एमपक्स सम्बन्धमा प्रेस विज्ञप्ति।
उपरोक्त बिषयमा एक ६० बर्षिय विदेशी महिला एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण सहित काठमाण्डौंको अस्पतालमा परिक्षण भईरहेको थियो । उहाँको शरीरबाट नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूमा परिक्षण गर्दा आज एमपक्स संक्रमण पुष्टी भएको छ । हाल उहाँ सामान्य स्वास्थ्य अवस्था सहित चिकित्सकको निगरानीमा हुनुहुन्छ । यसका संदर्भमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको छ ।नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स संक्रमणविश्व भरीहालसम्म १११ देशमा पुष्टि भई सकेको छ । हाल यो संक्रमण विश्वव्यापी चाँसोको जनस्वास्थ्य आपत्कालको अवस्थामा छैन् ।
एमपक्स रोग Orthopoxvirus genus / Poxviridae family को मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ । सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्य पछि मंकीपक्स मध्य, पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ र सन् २०२२–२०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लियो । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् ।
एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ–खटिरा–बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ (जस्तै थुक, र्यालको सम्पर्कबाट, भाइरसबाट दुषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । यसलेज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिन भित्रमा छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भइ फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रंथिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जाने र मृत्यु समेत हुन सक्छ ।
यसको रोकथामका लागि एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रुपमा जनस्वास्थ्यका मापदण्डहरु पालना गर्ने, घाउँसँग प्रत्यक्ष सम्पर्क हुनसक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रुपमा साबुनपानीले हात धुने वा स्यानीटाईजरको प्रयोग गर्ने, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरु तातो पानी, साबुन वा डीटर्जेन्टले धुने,मंकीपक्सको संक्रमण पुष्टि भइ बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतह स्थान वा कोठा डीटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कार्य गर्नुपर्ने हुन्छ ।
अतः यदि कसैलाई एमपक्ससँग मिल्दो जुल्दो लक्षण छन् भने अस्पताल गई चिकित्सकको उचित सल्लाह लिन र मन्त्रालयको कल सेन्टर १११५ वा ११३३ मा सम्पर्क गरी परामर्श लिनुहुन अनुरोध छ । साथै यसको निदानका लागि मन्त्रालयबाट हरेक प्रदेशमा अस्पतालहरुसमेत तोकि विशेषज्ञहरु तोकिसकिएकोले हुनाले उहाँहरुबाट परामर्श लिन सकिने व्यहोरा सबैमा अनुरोध छ ।
डा. समिरकुमार अधिकारी
सहप्रवक्ता