काठमाडौं - जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा तोडफोड गर्ने माथि कारबाही नभएसम्म आफ्ना ओपिडी (बहिरंग) सेवा बन्द गर्ने भएको छ। घटना भएको तेस्रो दिनसम्म पनि दोषी माथि कारबाही नभएको भन्दै अस्पतालले आन्दोलन जारी राखेको छ।
हालसम्म दोषी माथि कारबाही नभएकाले आन्दोलन जारी राख्नु परेको अस्पतालका चिकित्सक डा चन्द्रिका शाहले बताए। गत जेठ २८ गते भर्ना भई उपचाररत गोकर्णेश्वर नगरपालिकाका ७१ वर्षीय एक बिरामीको विषयलाई लिएर अस्पतालमा केही व्यक्तिहरुले गएको मंगलबार साँझ ५ बजे अस्पताल परिसरमा नाराजुलुस र हुलहुज्जत गरी अस्पताल तोडफोड गरेका थिए।
त्यसलगत्तै अस्पताल प्रशासनले विज्ञप्ति जारी गर्दै अस्पतालमा तोडफोड गर्नेलाई नियन्त्रणमा लिई कारबाही गर्न र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभुति नभएसम्म ओपिडी सेवा स्थगित गरिएको जनाएको थियो। गत बुधबारदेखि चिकित्सकहरु अस्पतालको ओपिडी अगाडी धर्ना बसिरहेका छन्।
अस्पतालमा कार्यरत चिकित्सकीय सेवा प्रदायक चिकित्सक तथा अन्य कर्मचारीहरुलाई कुटपिट गर्ने अप्रिय शब्दहरु प्रयोग गरी अस्पताल सुचारु हुन नदिई सेवा अवरुद्ध गरिएको अस्पतालले जनाएको छ। शान्ति सुरक्षामा बाधा परेकाले अस्पतालको नियमित सेवा सञ्चालन गर्न नसकिएको असपतालले विज्ञप्ति मार्फत जनाएको थियो।
उक्त घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले पनि दोषी माथि कारबाहीको माग गर्दै विज्ञप्ति निकालेको थियो। तर अस्पतालको माग अझै सम्बोधन नभएको डा शाहले बताए।
‘हाम्रो माग सम्बोधन भएको छैन। दोषीलाई कारबाही भएको छैन। नेपाल चिकित्सक संघले विज्ञप्ति निकाले पनि कार्यान्वयन हुन सकेको छैन।’ उनले भने।
उनका अनुसार अस्पतालको टोलि बिहिबार जिल्ला प्रशासन कार्यालय पनि गएको थियो। उनी भन्छन्, ‘हामी हिजो सिडिओ कार्यालय पनि गएका थियौं, त्यहाँबाट पनि दोषीलाई कारबाही होस् भनेर निर्देशन भएको छ तर अहिलेसम्म केहि भएको छैन।’
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ को मूल ऐनको दफा ३ अनुसार स्वास्थ्य संस्थामा आगलागी, तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउन नपाईने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कुटपिट या शारीरिक रुपमा चोट पुर्याउन नहुने, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुयाउन नहुने, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने भनिएको छ।
नेपाल चिकित्सक संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानूनी कारबाही गर्न माग गरेको छ। ऐन अनुसार स्वास्थ्य संस्था तोडफोड, वा अन्य कुनै कार्य गरि हानि नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कुटपिट या शारीरिक रुपमा चोट पुर्याउने काम गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
साथै, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गरेमा, कुनै किसिमले धम्की दिएमा, गाली गलौज गरेमा वा अभद्र वा अपमानजनक व्यवहार गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।