काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चिकित्सक बिनानै क्लिनिक सञ्चालन भइरहेको भन्ने उजुरीपछि नेपाल मेडिकल काउन्सिलले अनुगमन गरेको छ। काउन्सिलले सोमबार काठमाडौं उपत्यकामा रहेका ७ वटा क्लिनिकमा अनुगमन गरेको हो।
सोमबार जोरपाटी पोलिक क्लिनिक, हेल्दी च्यावइस क्लिनिक बालुवाटार, कलंकी पोलिक क्लिनिक, कोरियन स्कीन केयर क्लिनिक बालुवाटार, कोरियन ब्युटी एण्ड क्लिनिक सिटी सेन्टर, डिकस्मो क्लिनिक कुमारीपाटी र लुम्बिनी डेन्टल क्लिनिक कुपन्डोलमा काउन्सिलले अनुगनम गरेको हो।
अनुगमनको क्रममा सबै क्लिनिकहरुमा नाम मात्रको क्लिनिक लेखेर बिना चिकित्सक चिकित्सकीय अभ्यास भइरहेको पाइएको काउन्सिलले जनाएको छ।
छानबिन समितिका संयोजक एवं काउन्सिलका सदस्य डा कालुसिंह खत्रीका अनुसार यी क्लिनिकहरुले नाम क्लिनिक राखेपनि क्लिनिकमा हुनुपर्ने मापदण्ड नभएको पाइएको छ।
चिकित्सक बाहेकका जनशक्तिले छाला रोगको उपचार, कोठी हटाउने, डर्मा फिलिङ, बोटक्स इन्जेक्सन, चाया–पोतोको उपचार, रिंकल सर्जरी, सुईजन्य औषधिको प्रयोगदेखि कस्मेटिक उपचारहरु गरेको पाइएको डा खत्रीले बताए।
उनले भने, ‘नाम क्लिनिक भनेर छ तर न चिकित्सक छन्, न क्लिनिकको मापदण्ड अनुसार सञ्चालित छन्। क्लिनिक भनेर ब्युटीपार्लरको संरचना छ तर चिकित्सकले गर्ने कामहरु धमाधम एस्थेटिक र ब्युटिसियनले गरिरहेको भेटियो।’
छालारोग र कस्मेटिक उपचार र डेन्टलको उपचारमा चिकित्सक बाहेकका व्यक्तिले आफूलाई एस्थेटिक, ब्युटिसियन, स्कीन स्पेसलिष्ट भन्दै बिरामीको उपचार गरिरहेको अनुगमनको क्रममा भेटिएको हो।
यसरी चिकित्सकीय अभ्यास गरिरहेकाहरुले आफूहरुले कोरियाबाट तालिम लिएको र आफ्नो विज्ञताको दर्ता कोरियामा भएको बताएको डा खत्रीले बताए।
‘चिकित्सकीय अभ्यास गरेको पाइएपछि हामीले तपाईंहरुको दर्ता कहाँ छ भनेर सोध्दा उहाँहरुले कोरियाबाट पढेको एस्थेटिक, ब्युटिसियन, स्वास्थ्यकर्मी हो भन्नुभयो। हाम्रो कोरियामा नै विज्ञता दर्ता छ भनेर जवाफ दिए,’ उनले भने, ‘कोरियामा दर्ता छ भनेर नेपालमा चिकित्सकीय अभ्यास गर्न पाइँदैन।’
अनुगमनमा खटिएका काउन्सिलका अर्का सदस्य डा रुपक घिमिरेका अनुसार अनुगमनको क्रममा सबै क्लिनिकहरुमा कोरियाबाट तालिम लिएको एस्थेटिक तथा ब्युटिसियनहरु मात्र रहेको पाइएको बताए।
उनीहरुले मेडिकल अभ्यास नगरेको बताएपनि छानबिन गर्दा मेडिकल अभ्यास भइरहेको प्रमाणह फेला परेको डा घिमिरेले जानकारी दिए।
‘उहाँहरुले हामीलाई भन्दा कोरियाबाट तालिम लिएको एस्थेटिक हौं, हामीले इन्जेक्सनहरु लगाउदैनौं, चिकित्सकीय अभ्यास गर्दैनौ भन्नुभयो,’ उनले भने, ‘तर लकबुक हेर्दा इन्जेक्सन लगाएर गर्ने उपचारहरु बोटक्स, फिलरहरु गरिरहेको चायापोतोको औषधि चलाइएको पाइयो।’
उनीहरुले चिकित्सक बाहेकले गर्न नहुने भन्ने जानकारी भएर पनि चिकित्सकीय अभ्यास गरिरहेको अनुगमनको क्रममा भेटिएको उनले बताए।
डा घिमिरेले क्लिनिक भनेको स्वास्थ्य संस्था भएकाले डाक्टर, नर्स लगायतका चिकित्सक स्वास्थ्यकर्मीको समूहसहित स्वास्थ्य संस्था सञ्चालनको मापदण्ड अनुसार सञ्चालिन भएको हुनुपर्ने बताए।
मापदण्ड विपरित सञ्चालन भएको भेटिएपछि सबै क्लिनिकहरुलाई एकसाता भित्र आफ्नो दर्ताको प्रमाणपत्र सहितको कागजपत्र लिएर काउन्सिलमा आउन निर्देशन दिइएको छ।
एकसाता भित्र क्लिनिक दर्ताको कागजात सहित काउन्सिलमा उपस्थित नभए काउन्सिलले यी क्लिनिकहरु विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने डा खत्रीले जानकारी दिए।
यो पनि:
कभर स्टोरी- छाला उपचारमा मनपरी: विज्ञ भन्दै ठग्दै, समस्या झन् बल्झाउँदै