कुनै समय क्यान्सरको औषधि–उपचार सम्भव नै छैन भन्ने गरिथ्न्यो। समयको परिवर्तनसँगै ‘क्यान्सर ह्याभ नो एन्सर’ भन्ने भाष्य बदलिएर ‘देयर इज लाइफ आफ्टर क्यान्सर’ भन्नेसम्म आइपुगेको छ।
नेपालको पाँच दशकभन्दा पुरानो औषधि बजारको इतिहासमा क्यान्सरको औषधि बाहिरबाटै आयात गरिन्थ्यो। नेपालमै क्यान्सरको औषधि उत्पादन गर्नेतिर कसैले आँट नै गर्न सकेको थिएन। तर देशमा बढ्दो क्यान्सरका बिरामीको संख्या मध्यनजर गर्दै टिजिग फर्माले २०१८ देखि नेपालमै पहिलो पटक क्यान्सर विरुद्धको औषधि उत्पादन गरिरहेको छ।
टिजिग फर्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन र निर्यात गर्ने नेपालको पहिलो कम्पनी हो। २५ करोड लगानीमा सञ्चालनमा आएको कम्पनीको फ्याक्ट्री काभ्रेको बनेपा नगरपालिकास्थित नालामा छ। कम्पनीका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार फर्मा ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ अन्तर्गत भारतको एसपीएक्युरसँग प्रविधि हस्तान्तरण सम्झौता गरी वैदेशिक लगानीमा सञ्चालनमा आएको हो। उनका अनुसार विश्व स्वास्थ्य संगठनको स्टान्डर्ड र नेपालको प्रविधि हस्तान्तरण सम्बन्धी ऐनअनुसार कम्पनी सञ्चालन गरिएको छ।
कम्पनीले औषधि व्यवस्था विभागबाट स्वीकृत प्राप्त औषधिहरु नेपाली र विदेशी बजारमा उपलब्ध गराउँदै आएको छ। वैद्यका अनुसार हालसम्म फार्माले औषधि व्यवस्था विभागबाट जम्मा ४५ प्रकारका क्यान्सर विरुद्धका औषधिहरु उत्पादन लाइसेन्स पाइसकेको छ। त्यसमध्ये नेपाल तथा विदेशमा बिक्री–वितरण गर्न पाउने गरी ७ प्रकारका औषधिको बिक्री–वितरण प्रमाणपत्र प्राप्त गरिसकेको छ।
उनले बताएअनुसार क्यापेटिज ५००, क्यापेटिज १५० (ठूलो आन्द्रा तथा मलासयको क्यान्सरको लागि), टेमोटिज १००, टेमोटिज २५० (दिमागको क्यान्सर), अल्काटिज २ (पाठेघरको क्यान्सर), हायुटिज ५०० (सिकल सेल एनिमियाका असरहरु), जेफिटिज २५० (फोक्सोको क्यान्सर) लगायतका औषधिको नेपाल र विदेशमा निर्यात गर्न बिक्री–वितरण प्रमाणपत्र प्राप्त गरेको हो।
त्यस्तै, हालै औषधि व्यवस्था विभागबाट अन्य ४ प्रकारका औषधिको लागि नेपाली बजार खुला गर्ने निर्णय भएअनुसार उक्त औषधिका उत्पादन र विश्लेषणसँग सम्बन्धित कागजपत्रहरु राष्ट्रिय औषधि प्रयोगशालामा पेस भएको वैद्यले बताए। उनका अनुसार हालसम्म यस्ता औषधिहरु विषेश सिफारिसमा मात्र आयात हुँदै आएका थिए। उक्त औषधिहरुको स्वीकृतिपछि विभिन्न क्यान्सरको उपचारमा महत्वपूर्ण मानिने औषधिहरु नेपाली बजारको लागि पनि बिक्री–वितरण गर्न पाइनेछ। जसका कारण नेपाली बिरामीले विदेशबाट आएका महँगो औषधि किन्नुपर्ने बाध्यताको अन्त्य हुन्छ। ती औषधिहरु वसिटिज ८० (फोक्सोको क्यान्सर), सुनिटिज १२.५, सुनिटिज २५, सुनिटिज ५० (रेनल सेलको क्यान्सर), पाल्बोटिज ७५, पाल्वोटिज १००, पाल्बोटिज १२५ (स्तन क्यान्सर), लेन्भाटिज ४, लेन्भाटिज १० (कलेजो तथा भास्कुलार क्यान्सर) हुन्।
यस बाहेकका थप १२ औषधि ‘टिजिसर १५० (फोक्सोको क्यान्सर), भेनेटिज १०, भेनेटिज १०० (रगतको क्यान्सर), लोर्लाटिज २५, लोर्लाटिज १०० (फोक्सोको क्यान्सर), टिजिएक्स ५ (रेनल सेलको क्यान्सर), अफाटिज २०, अफाटिज ३०, अफाटिज ४० (फोक्सोको क्यान्सर), इस्प्रिटिज २०, इस्प्रिटिज ५०, इस्प्रिटिज ७० (रगतको क्यान्सर)’ विदेश निर्यातको लागि स्वीकृत भएको वैद्यले जनाए।
हालसम्म कम्पनीले सार्वजनिक खरिद प्रक्रियामार्फत नेपाल सरकारका विभिन्न अस्पतालहरुमा आफ्ना उत्पादनहरु उपलब्ध गराइरहेको छ। जसमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिभिल सर्भिस अस्पताल, वीर अस्पताल रहेका छन्। यस्तै निजी क्षेत्रका नेपाल क्यान्सर अस्पताल, काठमाडौं क्यान्सर अस्पताल, नेसनल अस्पताल, ग्राण्डी इन्टरनेसनल, मेडिसिटी अस्पताल, बिएण्डबि, पूर्वाञ्चल क्यान्सर अस्पतालमा समेत कम्पनीका औषधिहरु उपलब्ध भएको वैद्यले बताए। यसबाहेक विभिन्न अस्पतालका चिकित्सकको प्रेस्काइबअनुसार कम्पनीले औषधि वितरण गर्दै आइरहेको छ।
दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल, मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालले पनि बिरामीलाई यो औषधि किन्न स्वीकृति दिने गरेको छ । कम्पनीले औषधि व्यवस्था विभागबाट १५ प्रकारका मोलिक्युलको प्रयोग गरी उत्पादित २८ किसिमका औषधि उत्पादन र वितरण गर्ने अनुमति लिइसकेको छ । जसमध्ये ६ वटा फर्माकोपेल र २२ वटा ननफर्माकोपेल रहेका छन्। फर्माकोपेल उत्पादन स्थानीय बजार र निर्यात गर्न सकिन्छ भने ननफर्माकोपेल उत्पादन निर्यात मात्र गर्न पाइन्छ।
४० जना जनशक्तिले सञ्चालन गरिरहेको कम्पनीमा नयाँ किसिमका टेक्नोलोजी र मेसिनहरुको प्रयोग हुँदै आएको छ। नेपालमै पहिलो पटक फर्माका कार्यकारी निर्देशक वैद्य ‘वल्र्ड बुक अफ रेकर्ड’ रच्नसमेत सफल भएका छन्। वैद्यलाई वल्र्ड बुक अफ रेकर्डको नेपाल च्याप्टरले गत कात्तिकमा सम्मानित गरेको हो । नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरेर बिक्री–वितरण गरेकाले उनलाई उक्त सम्मान प्रदान गरिएको हो । त्यस्तै दुबईमा हुने विश्वव्यापी मेडिकल एक्स्पो ‘अरब हेल्थ’मा समेत कम्पनीले सहभागी जनाइसकेको छ।
वैद्य नाफामुलकभन्दा पनि सेवामुलक काम गरिरहेको बताउँछन्। ‘नेपालमा पनि गुणस्तरको औषधि बनिरहेको र बाहिरबाट आउने औषधिभन्दा धेरै सर्वसुलभ छ भन्ने कुरा प्रमाणित गर्न काम गरिरहेका छौँ,’ उनले भने।
नेपालमा औषधि अभाव र औषधि किन्न नसकेर क्यान्सरका बिरामीको मृत्यु हुने दिन अन्त्य गर्न आफूहरु लागिरहेको उनले बताए।