काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले सरकारी अस्पतालहरूले दिने सेवामा क्रमिक रूपमा सुधार हुँदै गएको बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालहरूको व्यवस्थापन राम्रो नभएको कारणले आम जनताले दुख पाएको भन्दै उनले पछिल्लो समय अस्पतालहरू अनुगमन गरिरहेका छन्। अनुगमनपछि अस्पतालहरूले दिने सेवामा सुधार हुँदै गएको मन्त्री बस्नेतको भनाई छ।
गत जेठ १२ गते उनले वीर अस्पतालको आकस्मिक अनुगमन गरेका थिए। उनले सो समयमा एक हप्तामा वीरको सेवामा सुधार गर्न निर्देशन दिएका थिए। आफ्नो निर्देशन अनुसार धेरै अस्पतालहरूले सेवा सुरु गरेको उनले जनाएका छन्। 'वीर अस्पतालमा आकस्मिक कक्षमा शय्या थपिएको छ। आइसीयू सुरु हुन लागेको छ र अनलाइन टिकट पनि प्रभावकारी बन्दै गएको छु।' उनले भने।
त्यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को निमित्त उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले पनि मन्त्री बस्नेतको निर्देशनपछि अस्पतालमा धेरै सुधार भएको बताएका छन्। उनका अनुसार अस्पतालले आकस्मिक कक्षमा १० वटा शय थपेको छ भने एचडीयुमा ११ वटा बेड थप गरेको छ।
'हामीले एचडियुमा ११ वटा बेड थप गरेका छौँ। जस कारण आइसियुका बिरामीलाई समेत सजिलो भएको छ। हामी आइसियु पनि अर्को हप्ता सम्म थप्ने तयारीमा छौँ। आकस्मिक कक्षमा समेत १० वटा बेड थप गरिसकेका छौँ। लाइन कम गर्न रगत र नगद काउन्टरलाई पनि फरक फरक ठाउँमा राखेका छौँ' उनले भने।
डा बस्नेतका अनुसार अस्पतालमा अनलाइन टिकटलाई प्रभावकारी बनाउन डिजिटल डिस्प्ले सुरु गरेको, ओपिडीको समय थप गरेको र व्हिल चियर, ट्रलीको व्यवस्था गरेको बताए।
त्यस्तै मन्त्री बस्नेतले निजी अस्पतालहरूले कुल शय्या मध्य विपन्नलाई छुट्टाइएको १० प्रतिशत शय्या छुट सुविधा नदिएको बताएका छन्। अनुगमनका क्रममा निजी अस्पतालले छुट नदिएको पाइएको उनले बताएका छन्। सरकारी अस्पतालले भने उक्त नियम पालना गरेको उनले बताए।
'अनुगमनका क्रममा निजी अस्पतालले शय्या छुट गरेको पाइएन। निजीले बेड छुट्ट्याए पनि बिरामी आएनन् भन्ने कुरा गरे। सरकारी अस्पतालमा भने यो नियम लागु भएको छ',उनले भने।
उनले आगामी महिनाबाट हरेक मासिक रूपमा कुन अस्पतालबाट कतिले विपन्न छुटबाट सेवा लिए भन्ने तथ्याङ्क लिने समेत बताएका छन्। मन्त्री बस्नेतले नियमित रूपमा अस्पतालहरूको अनुगमन गर्ने बताएका छन्। अस्पतालहरूमा भएका मेसिन कुन बेला खरिद भयो, चलेको छ की छैन लगायतका कुरामा जोड दिने उनले बताए।
'केही सामान प्रयोग विहीन अवस्थामा छ की त्यसको अनुगमन गर्छौँ र सदुपयोगमा जोड दिन्छौँ' उनले भने।
उनले देशव्यापी रूपमा अस्पतालहरूको अनुगमन गर्ने समेत बताएका छन्। उनले शुक्रबार मात्रै शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र ह्याम्स अस्पतालको अनुगमन गरेका थिए।