काठमाडौं- पहिलो व्यक्ति– आज राति को बस्ने?
दोस्रो व्यक्ति– आफैं बिरामी पर्छु जस्तो भइसक्यो।
तेस्रो व्यक्ति– राति औषधि ल्याउन जान परे मेसो पाउँदिन। बरू दिनभरी कुर्न सक्छु। राति त सक्दिन है !
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत चैत ८ गते राति साढे ११ बजेको समयमा बिरामीको कुरुवा को बस्ने भन्ने विषयमा छलफल हुँदै थियो। स्वास्थ्य खबरपत्रिकाको टोली पुग्दा उनीहरु आपसमा सहमति गरेर एक जना बिरामीको कुरुवा बस्ने र बाँकी घर फर्कने तयारीमा थिए।
मध्यरातको समय भएपनि त्रिवि शिक्षण अस्पताल परिसर बत्तिको उज्यालोले झलमल्ल थियो। केही मानिस आकस्मिक कक्षको अगाडि जम्मा भएका थिए। कोही फार्मेसीमा औषधि किनिरहेका थिए त, कोही वार्डहरुका आउजाउ गरिरहेका थिए।
ती मानिसमध्ये माथि संवादमा रहेका तीन जना अस्पतालको रेस्पी मेडिकल वार्डमा कुरूवा को बस्ने भनेर सहमति जुटाउँदै थिए। लामो संवादपछि त्यो रात राजकुमार तामाङ बस्ने सहमति जुट्यो।
तामाङले स्वास्थ्य खबरसँग कुराकानी गर्दै भने, ‘हिजो पनि मै बसेको हो।आज पनि बस्नुपर्ने भयो।आफैं बिरामी पर्छु जस्तो भइसक्यो।’ बनेपा घर भएका तामाङको ठूलोबुवालाई छातीसम्बन्धी समस्या भएपछि ४ चैतमा अस्पताल भर्ना गरिएको थियो। घर कुर्ने मान्छे अरु भए पनि अस्पतालमा सुत्न समस्या भएकाले सकेसम्म सबैजना दिउँसो मात्र बस्न रुचाउँछन्। यही कारण रातिको कुरूवा राजकुमार बनेका हुन्।
उनी भन्छन्, ‘एक त अस्पतालमा निद्रा पर्दैन, त्यसमा पनि सुत्ने ठाउँ छैन। राति फेरि औषधि लिन जानुपर्छ। के–के परिरहेको हुन्छ।’ रातिको लागि दुई जना कुरूवा भए सहज हुने अवस्थामा सुत्ने ठाउँसमेत नभएको उनको गुनासो थियो।
राजकुमारले दिउँसो काममा जानुपर्छ। रातभरि औषधि र बिलिङ काउन्टरको लाइनमा बसेर थाकेका उनी बिहानै उठेर कोठातिर लाग्छन्। अस्पतालमा शौचालय बस्ने लाइन कुर्नभन्दा पालो दिने मान्छे आएपछि हतारहतार कोठा जान उनी रुचाउँछन्।
‘यहाँ त शौचालयको पालो पनि कुर्नुपर्छ।फेरि शौचालयको अवस्था उस्तै छ। औषधि लिन र पैसा तिर्न राति फरक–फरक बिल्डिङ चहार्नुपर्छ,’ उनले सुनाए, ‘अनि बिहानै दिसा गर्न को लाइन बसोस् ? म त कोठामै जान्छु।’
तामाङको गुनासोपछि अस्पतालका अन्य वार्डहरुमा पुग्दा धेरै बिरामी कुरुवाहरु अस्पतालको प्यासेज, वार्ड अगाडिका साँघुरा स्थानमा कोही भुईंमा त कोही म्याट तथा अन्य केही ओछ्यान बनाएर सुतिरहेका थिए।
चैतकै अन्तिम साता स्वास्थ्यखबर वीर अस्पतालमा पुगेको थियो। वीर अस्पतालको न्यूरो वार्ड अगाडि पुग्दा कोही आफन्तसँग भिडियोकलमा व्यस्त थिए, कोही चार्जरको प्लक खोजिरहेका थिए। मोबाइलमा डाउनलोड गरेर राखिएका यु–ट्युब भिडियो हेर्नेको कमी पनि थिएन त्यहाँ।कोहीभने सुत्नका लागि ओछ्यान मिलाउने तरखरमा थिए।
रातिको १० बजे वीर अस्पतालको न्यूरो सर्जरी वार्डमा पुग्दा, भित्र बिरामी थिए भने बाहिर साँघुरो भुईंमा कुरूवाहरू लस्करै सुत्न प्रयासरत देखिन्थे।
यही लस्करमा बुटवलका ६५ वर्षीय प्रेमबहादुर विश्वकर्मा भेटिए। प्रेमकी बहिनी सीतामाया (नाम परिवर्तन) न्यूरो वार्डमा भर्ना छिन्।बुटवलस्थित शीतलनगर घर भएका उनी २२ दिनदेखि अस्पतालमा कुरूवा छन्।
सीतालाई ट्युमर भएको भन्दै बुटवलबाट काठमाडौँ रेफर गरिएको थियो। ६४ वर्षीय सीताको २० चैतमा ट्युमरको शल्यक्रिया सम्पन्न भइसकेको छ। तर बिरामी बहिनीसँगै काठमाडौँ आएका प्रेम बहिनीलाई अस्पतालमा छाडेर घर फर्किन सकेका छैनन्। अस्पतालमा कुरुवा बस्दा बस्दै उनी आफैं बिरामी जस्तो भइसके।
‘म त अस्पताल बस्दाबस्दै बिमारी पर्न लागिसकें। दिनभरि केहीकाम नगरे पनि थकाइ लाग्ने रहेछ। आफ्नो मान्छे बिरामी भएपछि तनाव उत्तिकै बढ्ने रहेछ,’ प्रेमले भने।
सीताका छोरा रमेश विक पनि प्रेमसँगै कुरुवा बसेका छन्।रमेश यतिबेला अस्पतालको व्यवस्थापन देखेर दिक्क छन्। केही दिन अगाडि उनको मोबाइल चार्ज गर्न राखेको ठाउँबाट हरायो। भित्तामा लेखिएको ‘चोर र पकेटमारादेखि सावधान’पोस्टर हेर्दै रमेश भन्छन्, ‘अहिलेको समयमा पनि अस्पतालमा सीसीटीभी छैन। मेरो २५ हजारको फोन हरायो। यहाँ हरेक दिन कसै न कसैको केही न केही हराइरहेको हुन्छ। आज बिहान हाम्रो ओढ्नेसमेत हरायो।’
रात पर्यो कि रमेशलाई सबैभन्दा ठूलो चिन्ता लाग्छ, सामान हराउने हो कि भनेर। त्यसैले कहिलेकाहीँ त उनलाई रात नै नपरोस् जस्तो लाग्छ। उपचार गर्न ऋण बोकेर आएको यो परिवारलाई अस्पतालबाट सामान चोरी हुँदा थप समस्या परेको छ।
‘खाना बाहिर खानुपर्छ। बस्न÷सुत्न होटेलमा खर्च गर्नसक्ने अवस्था छैन। तर यहाँ आँखा झिमिक्क गर्न नपाउँदै सामान गायब हुन्छ,’ प्रेमले गुनासो सुनाए।
वीर अस्पतालमा हरेक साँझ कुरुवा ओछ्यान लगाउने ठाउँ खोज्दै गरेका भेटिन्छन्। तर उज्यालो नहुँदै उनीहरूले ओछ्यान तह लगाइसक्नुपर्ने बाध्यता छ।
राजधानी बाहिरबाट उपचार गर्न आउने सबैका राजधानीमा आफन्त हुँदैनन्। आफन्त भएपनि लामो समय आउने–जाने गरिरहन असहज हुने गर्छ। यसैले अस्पतालको कमजोर सुविधा, चोरी तथा चरम लापरबाही सहन यी कुरूवाहरू विवश छन्। र, उनीहरूको यही विवशतामा चोर तथा फटाहाहरूको रजाईं छ।
अस्पताल प्रशासन पनि यस कुरामा मौन छ। यसले अस्पतालभित्र हुने गरेको चोरीलाई वैधानिकता प्राप्त भए जस्तो देखिन्छ। माथिका दुई कुरूवाको पीडा आफ्नो ठाउँमा छँदैछ। धादिङ बेनीघाट रोराङ–१, जरुङका मंगलसिंह तामाङको अनुभव पनि यी दुईभन्दा कम छैन।
मंगलकी १५ वर्षीय छोरी सानीथिङ तामाङलाई ६ महिनाअघि अचानक खुट्टा दुख्ने, पोल्ने र झमझमाउने समस्या देखिएपछि २५ फागुनमा टिचिङ अस्पताल भर्ना गरिएको थियो। मंगलको आर्थिक अवस्था दयनीय छ।
कमजोर आर्थिक अवस्थाकै कारण उनले आफ्नी छोरीलाई रोगले च्याप्दा सुरूमा गाउँका धामी–झाँक्रीलाई देखाएका थिए। तर तीन महिनाअघि छोरी हिँडडुल पनि गर्न नसक्ने भएपछि ऋण काढेर उनी काठमाडौं आएका थिए।
विगत एक महिनादेखि उनी बालरोग विभागको सघन उपचार कक्ष (आइसीयू) मा राखेर छोरीको उपचार गराइरहेका छन्। उनीसँग श्रीमती सुन्तलीमाया तामाङ पनि काठमाडौं आएकी थिइन्।
छोरी सानीलाई ‘क्रोनिक इन्फ्लेमेटरी डिमाइलिनेटिङ पोलिन्यूरोप्याथी’ नामको नसासम्बन्धी समस्याको पहिचान भएको छ। सानीकी आमा पढ्न÷लेख्न जान्दिनन्। न उनीहरूको बैंकमा खाता छ। उपचारमा लागिरहेको खर्चको जोह छिमेकी चन्द्रतामाङले जुटाउँदै आएका छन्। चन्द्र काठमाडौंमा बसेर अध्ययन गर्नुका साथै पत्रकारिता पनि सिक्दैछन्। उनी सानीको उपचारमा भइरहेको खर्चको लागि रकम संकलन गर्दै सामाजिक सञ्जालबाट सार्वजनिक पनि गरिरहेका छन्।सानीलाई अस्पताल भर्ना गरेको दिनदेखि ७ चैतसम्म उनी नै कुरूवा बसे।
लगातार धेरै दिन कुरुवा बस्दा चन्द्र आफैं बिरामी हुन पुगे। उनलाई ज्वरो आउने, शरीर गल्ने र रुघाखोकीको समस्या देखियो। त्यसपछि चन्द्रले सामाजिक सञ्जालमा एउटा अपिल जारी गर्दै लेखे– सानीको आमा पढ्न÷लेख्न सक्दिनन्। त्यसैले औषधि लिन लगायत अन्य कुरामा समस्या हुने हुँदा, इच्छुक व्यक्तिले कुरुवा बसिदिन अनुरोध गर्दछु।’
उनको सार्वजनिक अपिलपछि केही साथी दिउँसो आउन थाले। यसले उनलाई दिउँसो भए पनि सुत्ने अवसर मिल्यो। ‘एक जना गाउँको भाइ राति बस्न थाल्यो। मलाई हलुका भयो,’ उनले भने, ‘अहिले उही भाइ र म आलोपालो गरेर राति कुरूवा बसिरहेका छौं।’
सानीको लागि अस्पतालमा कुरूवा बसेपछि चन्द्रको अनुभव छ– अस्पतालमा पनि कुरुवाले आराम गर्ने ठाउँ हुनुपर्छ।बिरामी कुर्न आएको मान्छे उल्टै बिरामी भएर फर्किनुपर्ने अवस्था हुनु हुँदैन। अस्पतालले कुरुवाको लागि सुत्ने÷बस्ने ठाउँ, फ्रेस हुने ठाउँ र लुगा धुने र नुहाउनेसम्मको व्यवस्था गरिदिनुपर्छ।
उनी रोगको कारणले भन्दा पनि अस्पतालको वातावरणले बिरामी हुनुपर्ने दिन आउन नदिनेतर्फ अस्पताल प्रशासन सजग हुनुपर्ने औल्याउँछन्। अस्पतालमा कुरूवाहरूको कुरा गर्नुपर्दा कैलालीका ताराप्रसाद भट्टको अनुभव बेग्लै छ। आजभोलि उनलाई कान्ति बाल अस्पताल घर जस्तो लाग्छ। चार महिना बितिसकेको छ, उनी कैलालीबाट काठमाडौँ झरेको।
६ वर्षीय नाति मनिष भट्टको क्यान्सरको उपचार गर्न काठमाडौं आएका तारा कैलालीबाट भक्तपुर क्यान्सर अस्पताल हुँदै कान्ति पुगेका हुन्। काठमाडौँमा चिनेका आफन्त निकै कम छन्। भए पनि कति दुःख दिनु भन्दै उनले कसैसँग सहयोग मागेनन्।
नातिलाई पेटको क्यान्सर भएको पत्ता लागेपछि तारालाई होटेलमा बस्ने आँट आएन। डाक्टरको निगरानीमा छोडेर कैलाली र काठमाडौँ गरिरहन सम्भव पनि थिएन। कान्ति भर्ना गरेपछि दुई साता उनले अस्पतालको भुर्इंमा रात बिताए। साँझ म्याट ओछ्याएर भुईंमा पल्टिन्थे, बिहान सबेरै ओछ्याएका सामग्री उठाएर राख्ने कुना खोज्न थाल्थे।
एकदिन दिउँसो घाम तापिरहेको बेला अस्पतालका पालेले उनलाई कुरुवा घरको बारेमा बताए। यतिबेलासम्म उनलाई कान्ति बाल अस्पतालमा कुरूवा घर छ भन्ने थाहा थिएन। उनले यस बारेमा सुनेका पनि थिएनन्।
पालेको कुरा सुनेर उनी चकित परेँ। उनलाई अचम्म लाग्यो। पालेले कुरूवा घर लगेर देखाइदिएपछि उनको अनुहारमा खुसी झल्कियो।
केही दिनमै अस्पतालको कागजी प्रक्रिया पूरा गरेर उनी कुरूवा घरमा बस्न थाले। लामो समय अस्पताल बस्नुपर्ने मान्छेले सधैं बाहिरबाट ल्याएर खाने कुरा खानु आर्थिक रूपले निकै बोझिलो हुने गर्छ। त्यसैले उनले अहिले एकमुखे ग्यास चुल्हो किनेर ल्याएका छन्। ताकि, खाने कुरा आफैले पकाएर खान सहज होस्।
‘बिरामी नातिलाई कसरी स्वस्थ खानेकुरा खुवाउन सकिन्छ भनेर चिन्तित हुन्थें। अहिले एकमुखे ग्यास चुल्हो ल्याएको छु। सबै सम्भव भएको छ,’ ताराले स्वास्थ्यखबरसँग प्रसन्नता प्रकट गरे।
हिजोआज बिहान–साँझको खाना उनी आफैं पकाउँछन्। उपचारका लागि उनलाई अझै ४÷५ महिना बस्नुपर्ने अवस्था छ।उनी कुरुवा घर भएको हुनाले निकै सहज भएको सुनाउँछन्। र, अन्य सरकारी अस्पतालमा पनि यस्तै सुविधा होस् भन्ने कामना गर्छन्।
सरकारी अस्पतालमा ताराप्रसादलगायत केही व्यक्ति मात्र भाग्यमानी होलान्। बाँकी सबैको अवस्था दयनीय छ।ताराप्रसाद जस्तै भाग्यमानी व्यक्तिमा राजन रुपाखेती र उनकीश्रीमती सरु रुपाखेती पनि पर्छन्। उनीहरू छोरीका लागि हाल बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आईसीयू÷पीसीयूको कुरुवा घरमा बसेका छन्। छोरीको मुटुको अपरेसन गरेपछि १ फागुनदेखि उनीहरू कुरूवा घरमा छन्। हुन त उनीहरूको घर कलंकी हो तर छोरीलाई अस्पतालमा छाडेर घर जाँदा निन्द्रा नलाग्ने भन्दै त्यहीँ बसेका छन्।
‘कुरूवा घरले गर्दा धेरै सहज भएको छ। छोरीको नजिकै छौँ भन्ने महसुस हुन्छ,’ उनी भावुक हुँदै भन्छन्।
कतै कुरुवा घर नै छैन, भएको पनि पर्याप्त छैन
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० ले बिरामी कुरुवाका लागि आवास गृहको कल्पना गरेको छ। उक्त निर्देशिकाको परिच्छेद ४ अन्तर्गत अस्पतालसम्बन्धी मापदण्डमा अस्पतालको वार्ड तथा अन्य उपचार दिने स्थानमा आवश्यकताअनुसार बिरामीको साथमा रहने एक जना कुरुवालाई बस्ने प्रबन्ध हुनुपर्ने भनिएको छ। निर्देशिका बनेकै एक दशक हुने समयसम्म पनि व्यवहारमा भने लागू भएको देखिँदैन।
काठमाडौंमा भएका वीर, टिचिङ, सिभिल, पाटन लगायतका प्रायः अस्पतालमा कुरुवा घर नै छैन। भएका अस्पतालमा पनि पर्याप्त सेवा सुविधा छैन। प्रायः अस्पतालमा बिरामी कुरुवा घर वा कुरुवालाई बस्ने व्यवस्था नै छैन। बिरामीलाई कुर्न आएका आफन्तहरु चिसो भुईंमा रात बिताउन बाध्य छन्। सुत्ने, बस्ने ठाउँको अभाव, चोरीको डर, मोबाइल चार्ज गर्ने ठाउँको अभाव, शौचालयको लाइन, अस्पतालमा सरसफाई नहुनु, गर्मी समयमा लामखुट्टेको टोकाइ, जाडोमा अत्यधिक चिसो लगायतका समस्याले बिरामी कुरुवाहरु नै बिरामी हुने गरेका छन्।
महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा छुट्टै कुरुवा घरको व्यवस्था छ। २०४९ साल वैशाख १५ गते विभिन्न संघसंस्था र मानिसहरुबाट चन्दा उठाएर उक्त कुरुवा घर निर्माण गरिएको थियो। अहिले यो कुरूवा घरको अवस्था पर्याप्त मर्मत सम्भार नहुँदा रोगी जस्तै थलिएको छ। भवनको भुईंतलामा पाँच जनालाई खाना पकाउन मिल्ने एउटा भान्साकोठा र पहिलो तलामा करिब ३० बेडको कुरूवा सुत्ने बेड छन्।
टिचिङ अस्पतालले केही समययता मेडिकल आईसीयूको बिरामीका कुरुवालाई सुत्ने ठाउँ बनाइदिएको छ। अस्पतालको अर्थोपेडिक वार्डमा पनि बिरामी कुरुवा सुत्न छुट्याइएका ६ वटा बेड छन्। त्यस्तै, बाल सघन कक्षको बिरामी कुरुवाको लागि पनि अस्पतालले केही बेड छुट्याएको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्ले बताउँछन्।
त्यी वार्ड बाहेक अन्य लगभग सबै वार्डका बिरामी कुरुवाहरु की त बिरामीको बेड छेउमा बचेको भागमा सुत्छन् कि त वार्ड बाहिर भुईंमा। डा काफ्लेका अनुसार टिचिङ अस्पतालमा बिरामी कुरुवा बस्ने व्यवस्थापन गर्दै लैजाने योजना छ। ‘बिरामी कुरुवाहरुलाई सहज होस् भनेर थप व्यवस्था गर्ने कोशिसमै छौँ। हामीले बिरामी कुरुवाको लागि स्नान घर पनि बनाउने योजना गरेका छौँ तर आर्थिक अभावका कारण सो काम सुरु हुन सकेको छैन,’ उनले भने।
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भने कुरुवा सुत्ने पर्याप्त ठाउँ उपलब्ध छ। तर सुत्नको लागि दिनको १०० रुपैयाँ तिर्नुपर्ने हुन्छ।
‘कम्तीमा सुत्ने ठाउँ त छ, पैसा तिर्न परे पनि आनन्द छ,’ गंगालालमा आफन्त उपचार गराइरहेका एक कुरूवा भन्छन्। अस्पताल प्रशासनले आकस्मिक कक्षको अगाडि करिब १० जना बिरामी कुरूवा सुत्ने व्यवस्था मिलाइदिएको छ। त्यस्तै आईसीयू÷पीसीयूको बिरामी कुरूवाको लागि लक्ष्मी बैंकको संयोजनमा खुला हल बनाइएको छ। यहाँ सुत्नका लागि ओछ्याउने सामग्री आफैंले लैजानुपर्छ। यसैगरी, १ पुस २०६६ सालदेखि अस्पतालमा कुरुवा घरसमेत सञ्चालनमा आइरहेको छ।
अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी पहिले बिरामीको लागि पर्याप्त बेड भएपछि मात्रै कुरुवाको लागि छुट्याउन सक्ने बताउँछन्। ‘हाम्रो जस्तो देशमा पहिले बिरामीको लागि पर्याप्त बेड कसरी बनाउने भन्ने कुरा महत्वपूर्ण छ। त्यही कारण पनि अस्पतालहरुले कुरुवाको लागि छुट्टै व्यवस्थापन गर्न नसकेको हो। बिरामीको लागी पर्याप्त भएपछि कुरुवाको बारेमा स्वतः सोचिन्छ,’ उनले भने।
थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालमा पनि पुरुष कुरुवा बस्ने कुरुवा घर सञ्चालनमा आइरहेको छ। अस्पतालमा बिरामीसँग एक जना महिला कुरुवा भित्रै बस्नुपर्ने हुँदा सहयोगका लागि आएका पुरुष कुरुवाहरु बस्नको लागि कुरुवा घर सञ्चालनमा ल्याइएको हो। कुरुवा घर ७० जना मानिस बस्न सक्ने क्षमताको छ। तर अस्पतालमा आकस्मिक कक्ष र अपरेसन थिएटरमा भएका बिरामीका आफन्तहरु भने अस्पताल बाहिर भुईंमा नै सुत्ने गरेको देखिन्छ।
काठमाडौं मात्र होइन,राजधानी बाहिर विभिन्न जिल्लामा प्रयोगमै नआई कुरूवा घरहरू जीर्ण बन्न थालेका छन्। योजना बने पनि भवन बन्न नसकेको, बिरामी कुरूवा बस्न धरौटी रकम राख्नुपर्ने लगायतका समस्या पनि यदाकदा भएका छन्।
गत माघयता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आकस्मिक कक्षमा बिरामीका कुरुवाले पनि कार्ड लिनुपर्ने नियम लागू गरेको छ। प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामी पुर्याउने वित्तिकै बिरामी दर्तासँगै आकस्मिक कक्षको काउन्टरमा ५ सय रुपैयाँ बुझाएर कुरुवा कार्ड लिनुपर्ने नियम बनाएको हो।
चितवनस्थित भरतपुर अस्पतालमा हाल बिरामी कुरुवाको लागि केही व्यवस्था नभएको अस्पतालका मेडिकल सुपारिटेन्डेन्ट प्राडा कृष्ण पौडेलले बताए। केही समयअघि अस्पतालमा शहरी विकास मन्त्रालयले बिरामी कुरुवाको लागि भवन निर्माण गरिदिएको थियो। तर उक्त भवन अस्पतालबाट केही दुरीमा भएकाले प्रयोगमा आउन नसकेको पौडेल बताउँछन्। ‘हाल उक्त भवनबाट हामीले प्रशासनको केही शाखाहरु सञ्चालन गरिरेका छौँ। अहिले बिरामी राख्ने वार्डकै तलामा कुरुवाको लागि संरचना बनाइरहेका छौँ,’ उनले भने।
त्यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पनि कुरुवा घरले अस्पतालमा आउने बिरामीका आफन्तलाई राहत मिलेको छ। क्यान्सर अस्पतालले बिरामी कुरुवालाई सस्तोमा बस्नका लागि कुरुवा घर निर्माण गरेको हो।
कुरुवा घरमा दैनिक ५४ जनासम्म बस्न सक्ने क्षमता छ। अस्पतालले क्षमताअनुसार विभिन्न मूल्यमा घर भाडामा दिँदै आएको छ। कुरुवा घर ५४ जना बस्नसक्ने क्षमताको रहेको छ। उक्त कुरुवा घरमा दैनिक ३०० पर्ने १८ वटा कोठा रहेका छन्। यसबाहेक आर्थिक अवस्था राम्रो भएकालाई दैनिक एक हजार पर्ने ६ वटा फ्ल्याट नै अस्पतालले उपलब्ध गराएको छ। यस्तै अस्पतालमा गरिबहरुका लागि दैनिक २० रुपैयाँ पर्ने सामूहिक कुरुवा घरसमेत रहेको छ।
त्यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा बजेटको अभावले गर्दा कुरुवा घर निर्माणधीन अवस्थामा रहेको अस्पतालका निर्देशक बद्री चापागाईंले बताए। ‘अहिलेसम्म हामीसँग कुरुवा घर नै भनेर व्यवस्थित पूर्वाधार छैन। अघिल्लो आर्थिक वर्षदेखि बनाउन थालेको कुरुवा घर पूरा हुन सकेको छैन,’ उनले भने।
सेती प्रादेशिक अस्पतालमा समेत कुरुवा घर छैन। अस्पतालका कार्यकारी निर्देशक हेमराज पाण्डेका अनुसार कुरुवा घर बनाउने योजना नै छैन। उनी भन्छन्, ‘हामीसँग कुरुवा घर बनाउने जग्गा नै छैन। ठाउँ नभएकाले त्यो योजना नै बनाउन सकिएको छैन।’