काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आज आगामी आर्थिक वर्षका लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।
संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा दिउँसो ४ बजे राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।
मन्त्रालयले पठाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयले धेरै नै संशोधन गरिएको बताइएको छ। अर्थतन्त्रमा परेको असरका कारण धेरै प्रस्ताव संशोधन गरिएको छ। तर सरकारले स्वास्थ्यलाई भने प्राथमिकतामा नै राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
यसपटक केही नयाँ र धेरैजसो यसअघिकै ठूला र रणनीतिक महत्वका विषयलाई प्राथमिकता दिइएको बताइएको छ।
विशेषगरी स्वास्थ्य बिमाका कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाइने, आधारभूत अस्पताल, पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी खोप कार्यक्रम, औषधि व्यवस्था विभागको पुनर्संरचना, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, मेक इन नेपालको मर्म अनुरूप स्वदेशमा नै धेरैभन्दा धेरै औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडको क्षमता बढाउने, एक चिकित्सक/ स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम लगायतका विषयहरु समावेश हुने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।