प्रश्न: गुप्तांगमा हुने रोग के-के हुन्? कसरी बच्न सकिन्छ? लक्षण र उपचार के-के हुन्?
डा उत्तम शर्माको उत्तर : नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ। मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ। यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं।
नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिन सक्छ। त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौं, त्यो पनि यौन सम्पर्कको माध्यमबाट सर्ने रोग हो। फङ्गल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ। तर यो यौन रोगमा पर्दैन।
मानिसको गुप्ताङ्गमा देखिने मुसा यौनरोग हो। गुप्ताङ्गमा मुसा आएको व्यक्तिले यौनसम्पर्क गर्छ भने अर्को व्यक्तिमा रोग सर्छ। कतिपयको हात र खुट्टाहरुमा देखिने मुसा यौनरोग होइनन्। यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ। अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन्।
नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो। यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ। प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ। कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ। त्यसमा पनि ट्रक चालकहरु प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन्। यात्राका क्रममा घुमिरहने र अनुकुल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले यिनीहरुका कारण सिफिलिस फैलिइरहेको हुन्छ। मकहाँ उपचारका क्रममा आउनेहरु पनि प्रायः यस्तै स्वभावका व्यक्तिहरु पर्छन्।
सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ। केही दिनमा कतिपयको आफै निको भएर जान्छ भने कतिपयले एन्टीबायोटिक औषधि खाए पुग्छ। पुरुषका कारणले महिलाहरुमा पनि भिरिङ्गी सर्छ। उनीहरुको यौनांग वरपर घाउ देखिन्छ। प्रारम्भिक चरणमा आए एक दिनको एन्टीबायोटिक वा इञ्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ। उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ। तर तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन। यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ। घाउ नै छ भने जोखिम ज्यादा हुन्छ। शहरी क्षेत्रमा उच्च मध्यम र उच्च वर्गमा भने भिरिङ्गीको समस्या त्यति देखिँदैन।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ। यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ। कतिपयको यौनांग अति गन्हाउने हुन्छ। सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ। महिलाहरुमा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ। गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ। नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ।
अर्को जेनाइटल हर्पिज पनि यौनरोग हो। यसका धेरै प्रकार र लक्षण छन्। केहीको ओठमा पनि निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं। हर्पिज रोष्टर अर्को प्रकारको हो, शरीरको एक भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौं।
कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ। जेनाइटल वार्ट भने मुसाहरु हुन्। जुन सामान्य मानिसहरुमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन्।
कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कको बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन्। यौनसम्पर्कका क्रममा योनी र लिंगका भागहरु घर्षण हुँदा यौनरसमा रहने जिवाणुहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन्। पानीफोका फुट्दा वा रस निस्कदा पनि जिवाणुहरु स्थानान्तरण हुन्छन्। यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्ने भए। यौनसम्पर्कका क्रममा महिलाहरुको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जिवाणुहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन्।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन अभ्यास हो। सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो। रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन। पतिपत्नीमध्ये कसैमा यो रोग लागिसकेको छ भने निको नहुञ्जेल शारीरिक सम्पर्क नगर्नु उपयुक्त हुन्छ।
प्रायः हामीकहाँ उपचारमा आउनेमध्ये महिलाहरुमा रोग लाग्ने कारण पतिहरु हुन्। घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै भेटिन्छन्। यदि कुनै एकजनामा देखिएको छ भने दुवैले नियमित स्वास्थ्य परीक्षण र सही उपचार गर्नुपर्छ।
यदि कुनै पतिपत्नी आफूहरु बाहेक अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ। बरु एचआईभी रगत, सिरिञ्ज लगायतका अन्य व्यवहारिक क्रियाकलापका कारण सर्न सक्ला। तर एड्स बाहेकका अन्य यौन रोगहरु अरु माध्यमबाट सर्दैनन्।
यस्ता यौन रोग लागेका व्यक्तिले निको नहुञ्जेल कण्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्नुहुन्छ। पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ। यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ। यस्ता यौन रोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ। कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात मुसा देखापर्न सक्छ।
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ। कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन्। पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टरकोमा जान्छन्। त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिदैन। तर शहरी क्षेत्रमा पनि यस्ता यौनरोगको समस्याबाट निम्नदेखि उच्च वर्ग सबै समुदायका मानिस प्रभावित छन्।
शहरी क्षेत्रमा भने अनुमान नै गर्न नसक्ने मानिसहरुलाई पनि यस्तो समस्या पर्न सक्छ। समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरुले विवाहपूर्व नै शारीरिक सम्पर्क गर्छन्। कतिपय मानिसहरु व्यवसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन्। जसले गर्दा यस्ता रोगहरुको जोखिम झनै बढाएको छ। किशोर÷किशोरीहरु पनि बारम्बार आएका हुन्छन् र केटा मानिसहरु ज्यादा आउछन्। उनीहरुको घुमन्ते व्यवहारका कारण केटी साथीहरु पनि पीडित भएका छन्। यसमा उमेरको बन्देज हँुदैन, जसलाई पनि लाग्न सक्छ।
अन्त्यमा भन्नुपर्दा, स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अबलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ।
-(डा शर्मा (छाला तथा यौन रोग विशेषज्ञ हुन्।)