म्याग्दी- म्याग्दी जिल्लाको बेनी अस्पतालमा एक महिलाको खुट्टामा रहेको पाँच किलोको ट्युमर शल्यक्रिया गरेर निकालिएको छ। काठमाडौंको नेपाल अर्थोपेडिक्स अस्पतालबाट निःशुल्क सर्जिकल विशेषज्ञ शिविर लिएर बेनी अस्पताल पुगेका चिकित्सकहरुको टोलीले ५६ वर्षीया महिलाको ‘न्यूरोफिब्रोम्याटोसिस’ नामक ट्युमरको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका हुन्।
ती महिलामा १५ वर्षदेखि न्युरोफाइब्रोम्याटोसिस ट्युमर थियो। यो नसाबाट आएर छालामा निस्किने ट्युमर हो। उनको शरीरमा अन्य साना साना ट्युमहरु भएपनि पाँच केजीको ठूलो ट्युमर तिघ्राको पछाडि झुन्डिएर घुँडासम्म आएको थियो। जसका कारण उनलाई हिँड्न, लुगा लगाउन, बस्न समेत समस्या हुँदै आइरहेको थियो।
नेपाल अर्थोपेडिक्स अस्पतालका निर्देशक एवं वरिष्ठ अर्थोपेडिक्स सर्जन डा कैलाश भण्डारी, प्लास्टिक सर्जन डा निरन महर्जन, एनेस्थेसियामा डा संयुक्त आचार्य लगायतको टोलीले ती महिलाको शल्यक्रिया गरेका हुन्। शल्यक्रियाका लागि झण्डै ६ घण्टाको समय लागेको बताइएको छ। शल्यक्रियापछि बिरामीको अवस्थामा सामान्य रहेको छ।
बेनीमा नेपाल अर्थोपेडिक्स अस्पतालबाट १८ जना विशेषज्ञ चिकित्सकको टोलीले निशुल्क सर्जिकल शिविर सञ्चालन गरिरहेको छ। २९ गतेबाट शुरु भएको शिविर जेठ १ गते सोमबारसम्म चल्ने छ। शिविरलाई मेड सोलुसन फाउण्डेसन स्वीटजरल्याण्डले आर्थिक सहयोग रहेको छ।