काठमाडौं- नेपालमा किशोरीहरुका लागि लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप उपलब्ध गराइँदै छ। स्वास्थ्य सेवा विभागले २० हजार किशोरीलाई लक्षित गर्दै खोप उपलब्ध गराउन लागेको जानकारी दिइएको छ।
राजधानीमा आयोजित सर्भाइकल क्यान्सर प्रिभेन्सन इन नेपाल: हाउ इम्पोर्टेन्ट इज एचपीभी भ्याक्सिनेसन?’ विषयक कार्यक्रममा जेठमा नेपालमा सिकोलिन नामक २० हजार भायल खोप भित्रिने जानकारी दिइएको हो। खोप आयातकर्ता नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ सन्देश सिग्देलले सम्झौता अनुसार स्वास्थ्य सेवा विभागलाई खोप उपलब्ध गराउन लागिएको जानकारी दिए।
'जेठमा हामीले विभागलाई २० हजार भायल खोप उपलब्ध गराउँदैछौं,' उनले भने, 'हामीले मागका आधारमा थप खोप पनि उपलब्ध गराउन सक्नेछौं।' उनका अनुसार नेपालका केही निजी अस्पतालमा सिकोलिन खोप उपलब्ध भइरहेको छ।
सिकोलिन चिनिया कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी भाइरसविरुद्धको खोप हो। यो खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मान्यता प्रदान गरेको खोप हो। नेपालमा अहिले यसको मूल्य प्रति एक भायलको ६ हजार २४० रुपैयाँ तोकिएको छ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँने हुँदा बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ बर्ष उमेरको बीचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिइनु उत्तम हुने जानकारी दिए।
कार्यपत्र प्रस्तुत गर्दै डा शाहीले भने 'पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस(एचपीभी)लाई मानिएको छ। पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस छाला देखि छालाको सम्पर्कबाट विशेषगरी यौन क्रियाकलापको समयमा सर्ने गर्दछ। यो भाइरसका एक सयभन्दा बढी प्रकार छन्। जसमध्ये एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ।' विश्वका कतिपय देशहरुमा आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिएको उनले जानकारी दिए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा चन्दा कार्कीले खोपको महत्व र आवश्यकताका विषयमा बोलेकी थिइन्। उनले पाठेघरको मुखको क्यान्सर (सर्भाकल क्यान्सर) बाट जोगाउने पहिलो तरिका (प्राइमरी प्रिभेन्सन) भनेको एचपीभी विरुद्धको खोप रहेको, दोस्रो तरिका (सेकेन्डरी प्रिभेन्सन) भनेको क्यान्सर लाग्नु भन्दा पहिले नै महिलाको उमेर ३० देखि ६० बर्षसम्म प्रत्येक पाँच बर्षमा एक पटक नियमित जाँच र उपचार गर्नु र तेस्रो तरिका रोगको निरुपण र उपचार गर्नु रहेको जानकारी दिइन्।
वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको रोकथाममा एचपीभी खोपको महत्व विषयमा समूहगत छलफल भएको थियो। सो छलफल कार्यक्रममा वरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा शिला बर्मा, प्राडा प्रकाशनिधी तिवारी, प्राडा विवेक आचार्य, प्राडा जनक कोइराला र डा पुप्पमणी खराल सहभागी थिए। उनीहरुले खोपको सहज उपलव्धता, सहज पहुँच, कस्ट इफेक्टिभ हुनु पर्नेमा जोड दिएका थिए।