सुर्खेत- कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
कर्णालीका जनताले अहिले पनि सर्वसुलभ स्वास्थ्य सेवा नपाइरहेको भन्दै मन्त्री सिंहले यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए।
शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले गरेको सरकारी निकायका प्रतिनिधि एवं स्वास्थ्यकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले प्रदेश सरकारले कर्णाली प्रदेशका नागरिकको स्वास्थ्यलाई विशेष ध्यान दिने बताए।
हिमोफिलियाका बारेमा आफूले हालै मात्र विस्तृत अध्ययन गर्ने मौका पाएको भन्दै मन्त्री सिंहले हिमोफिलियाका बिरामीले उपचारमा पाइरहेको सास्ती, उपचार अभाव लगायतका विषयमा आफू चिन्तित रहेको बताए। मन्त्री सिंहले हिमोफिलियाका बिरामीको उपचारमा सहज हुनेगरी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सक्दो व्यवस्था गर्ने पनि प्रतिबद्धता जनाए।
`हिमोफिलियाका बिरामी कर्णाली प्रदेशमा पनि रहेको, उहाँहरूले उपचार सेवा प्रभावकारी रूपमा नपाएको र कतिपय बिरामी उपचारका लागि सम्पर्कमा नपुगेको सुन्दा दु:ख लाग्यो´, मन्त्री सिंहले भने, `म प्रदेश सरकारको मन्त्री हुनुका नाताले त्यस्ता बिरामीको उपचारका लागि प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने प्रयत्न गर्नेछु। थोरै भएपनि तपाईंहरूको विषय सम्बोधन हुनेछ।´
राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशमा हिमोफिलियाका १७४ जना बिरामी रहेका छन्। त्यसमध्ये ३४ जनाले नियमित उपचार सेवा लिइरहेका छन्। पछिल्लो जनगणनामा देशभर ४ हजार ९३७ जना हिमोफिलियाका बिरामी पहिचान भएका हिमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेले जानकारी दिए।
हिमोफिलिया सामन्यता वंशाणुगत संक्रमण रहेको उनले बताए। कतिपय अवस्थामा अन्य कारणले पनि हुने उनको भनाइ छ। `यो संक्रमण पुरुषबाट नभई महिलाबाट सर्ने भएकाले उहाँहरूले विभेद भोग्नुपरेको छ। सामाजिक विकृतिका रूपमा लिने गरिएको दुःखद् अवस्था छ´, अध्यक्ष घिमिरेले भने, `अहिले पनि समाजबाट तिरस्कृत हुनुपरेको छ। औषधि उपचार नपाएर बर्सेनि ३/४ जनाको ज्यान जाने गरेको छ।´
व्यक्ति आफैंले उपचार गर्नसक्ने अवस्था छैन। हिमोफिलिया सोसाइटीसँग सीमित स्रोत छ। अब उपचारको सम्पूर्ण जिम्मा राज्यले नै लिनुपर्छ। कर्णाली प्रदेशमा विशेष पहल गरिदिनुहोला, अध्यक्ष घिमिरेले मन्त्री सिंहले आग्रह गरे। उनले कर्णाली प्रदेश अस्पतालमा परीक्षण मेसिन आइसकेको तर रिएजेन्ट नगरेकाले सञ्चालनमा आउन नसकेको बताए।
हाल वीर अस्पताल र कान्ति बाल अस्पतालमा यसको परीक्षण हुने गरेको छ। कार्यक्रममा वीर अस्पतालका डा निरज कुमार सिंहले पहिचान र उपचारको अभावमा नेपालमा हिमोफिलिया देखिएका ९९ प्रतिशत व्यक्तिमा अपांगता हुने समस्या देखिएको बताउनुभयो। हिमोफिलिया न्यूनीकरणका लागि लगाइने खोपको प्रतिडोज १२ हजार ५०० पर्ने र हप्तामा कम्तिमा पनि चार डोज दिनुपर्ने डा सिंहले बताए।
डा सिंहले हिमोफिलियाको आधारभूत सेवा प्रदेशबाटै प्रदान गर्नुपर्नेमा जोड दिए। शरीरको जुनसुकै भागबाट रगत अनियन्त्रित हुनु र रगत जमाउने तत्वमा कमि हुनु नै हिमोफिलिया रहेको डा सिंहले बताए। हिमोफिलियाको अहिलेसम्म स्थायी उपचार पत्ता लाग्न नसकेको उनले बताए।