काठमाडौं– चितवन मेडिकल कलेजमा अध्यनरत छात्रा सिम्रन थापा मृत फेला परेपछि विद्यार्थीहरुले घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
फेडरेशन अफ नेप्लिज मेडिकल स्टुडेन्ट्सले चितवन मेडिकल कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत छात्रा थापाले बुधवार आन्तरिक परीक्षा दिई रहेको बेला परीक्षा हलबाट शिक्षकले जबरजस्ती मानसिक तनाव दिई निकालेको र त्यस पछि उनले आफ्नो कोठामा गई आत्महत्या गरेको आरोप लगाउदै दोषीलाई छानबिन गरी कडा कारवबाहीको माग गरेको हो।
घटनाको विरोधमा विद्यार्थीहरुले मेडिकल कलेजको शिक्षण अस्पतालका सम्पूर्ण बहिरंग (ओपिडी) सेवा अनिश्चित समयका लागि अवरुद्ध गरेका छन्। ओपिडी बन्दको आन्दोलनमा फेडेरेसनले ऐक्यवद्धता जनाएको छ।
'चितवन मेडिकल कलेज-विद्यार्थी संघर्ष समितिका मागहरुप्रति ऐक्यवद्धता प्रकट गर्दछौं। तत्काल घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कडा कारबाही गर्न गृह प्रशासनसँग जोडदार माग गर्दछौं,' फेडेरेसनद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
फेडेरेसनले पछिल्लो समय शैक्षिक क्षेत्रमा शिक्षकले विद्यार्थीलाई मानसिक यातना दिने क्रम बढेको भन्दै शिक्षण पेशालाई थप मर्यादित बनाउन आग्रह पनि गरेको छ।
'पछिल्लो समय शैक्षिक क्षेत्रमा शिक्षकले विद्यार्थीलाई मानसिक यातना दिने क्रम बढेको छ। खासगरी प्राविधिक शिक्षण गर्ने संस्थाका विद्यार्थीहरूले गुनासो गर्ने क्रम बढिरहेको जनाएको छ। मानसिक स्वास्थ्यमा राज्यले विषेश कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ। शिक्षण पेशालाई थप मर्यादित बनाउन सबै पक्षले सहकार्य गर्न अपरिहार्य आवश्यकता रहेको छ,' विज्ञप्तिमा भनिएको छ।
मेडिकल कलेजमा दन्त चिकित्सक चौथो वर्षमा अध्यनरत सिमरन थापा बुधबार आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी हुन्। पाल्पा रामपुर नगरपालिका– ४ घर भएकी २३ वर्षीया सिमरन थापा भरतपुर-१० सप्तगण्डकी चोकमा रहेको आफू सुत्ने कोठामै मृत फेला परेकी हुन्।
विद्यार्थीहरूले परीक्षाहलमा सम्मिलित शिक्षकले जबर्जस्ती मानसिक तनाव दिएर निकालेको र सोपश्चात् उनले आत्महत्या गरेको आरोप लगाउँदै विद्यार्थी संघर्ष समितिमार्फत आन्दोलनमा उत्रिएका हुन्।
हेरौं विज्ञप्ति