म्याग्दी- म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समिति, महिला विकासको आयोजना तथा प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिक र गरिमा कँडेल मेमोरियल ट्रस्टको सहयोगमा म्याग्दीमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। म्याग्दीका चार वटा स्थानमा आयोजना गरेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको नि:शुल्क जाँच शिविरमा एक हजार एक सय ५६ जनाले सेवा लिएका छन्।
प्यासिफिकद्वारा जारी विज्ञप्तिमा नि:शुल्क शिविरसँगै आयोजित सचेतना कार्यक्रममा चार वटै स्थानमा गरेर ९ हजार ६ सय जनालाई क्यान्सरका विषयमा जानकारी दिइएको छ। शिविरमा एक हजार ६७ जनाको पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि भिआइए परीक्षण गरिएको थियो। यस्तै एक हजार ८९ जनाको स्तन क्यान्सर पहिचानका लागि परीक्षण गरिएको थियो।
भिआइए परीक्षण गरिएकामध्ये ९४ जनामा पोजिटिभ रिपोर्ट आएको छ। स्तन परीक्षण गरिएकामध्ये ६ जनामा गाँठा रहेको पत्ता लागेको छ। यस्तै परीक्षणका क्रममा २६ जनामा पाठेघर खस्ने समस्या रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ।
शिविरमा किशोर कुमार प्रधानाङ्ग, प्रणीता जोशी, सीता अधिकारी, सुशीला धिमला लगायतको टोलीले सेवा दिएको थियो।
*यसअघि आयोजक र सहयोगी संस्थाको नाम छुट्न गएकाले सच्याइएको छ। -सम्पादक