काठमाडौं- सरकारले मंगलबार सार्वजनिक गरेको सहसचिवहरुको हेरफेरको सूचीमा स्वास्थ्य सेवा तर्फका डा श्रीराम तिवारी पनि परेका छन्। तर उक्त सूचीमा भने उनको नाममा गल्ती भएको भेटिएको छ। सूचीमा उनको थरमा गल्ती भएको हो।
'डा श्रीराम तिवारीको नाममा डा श्रीराम गुरागाईं भएको छ,' प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक कर्मचारीले भने, 'गुरागाईं नभएर उहाँ डा श्रीराम तिवारी नै हो। उहाँलाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा पठाइएको हो।'
सरकारले डा तिवारीलाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ। उक्त स्थानमा रहेका बद्रीबहादुर खड्कालाई हटाउँदै डा तिवारीलाई जिम्मेवारी दिइएको हो।
सरकारले स्वास्थ्य सेवाका कर्मचारीसहित एकै पटक ४४ जना सहसचिवको पदस्थापन, सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ।
यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा जनार्दन पन्थीलाई पठाउने निर्णय भएको छ। सरकारले डा विनोदकुमार गिरीको जिम्मेवारी फेर्दै पन्थीलाई पठाउने निर्णय गरेको हो।
यसैगरी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत फेरिएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा भोजराज काफ्लेलाई पठाउने निर्णय भएको छ। उनी यसअघि चिकित्सा शिक्षा आयोगको सदस्यसचिव थिए। यस्तै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशको सचिवमा ज्ञान प्रसाद ढकाललाई कामकाज गर्न पठाउने निर्णय गरेको छ।
यसैगरी, वीर अस्पतालमा रामप्रसाद पाण्डेलाई सरुवा गरेको छ। उनी यसअघि लुम्बिनीको मुख्य मन्त्री कार्यालयको सचिव थिए।