काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्योग व्यवसायलाई व्यवस्थित बनाउन सरकारको सहयोग रहने बताएका छन्।
एकता व्यापार सङ्घले मंगलाबार आयोजना गरेको ‘बृहत निःशुल्क स्वास्थ्य शिविर’ मा उनले देशको आर्थिक मेरुदण्डका रुपमा रहेको उद्योग व्यवसायलाई व्यवस्थित गर्न सरकारले सहयोग गर्ने बताए।
“मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन उद्योगी तथा व्यवसायीको महत्वपूर्ण भूमिका रहेको छ, उनीहरूलाई काम गर्ने वातावरण दिइएन भने देशको विकासले फड्को मार्न सक्दैन, सरकार उद्योगी तथा व्यवसायीको पक्षमा छ”, मन्त्री बस्नेतले भने।
पञ्चायतकालदेखि सिन्धुपाल्चोकको तातोपानी नाकालाई व्यवस्थित बनाउन आफू लागेको भन्दै उहाँले कोरोना संक्रमणका कारण बन्द रहेका नाकालाई कूटनीतिक पहलमार्फत चाँडो सञ्चालन गर्न आफूले पहल गर्ने बताए।
कोरोनाका कारण नेपालसहित विश्वकै अर्थतन्त्र बिग्रिएकाले यसलाई पहिलेकै अवस्थामा ल्याउन व्यवसायीमैत्री वातावरण बनाउनुपर्ने मन्त्री बस्नेतको भनाइ थियो। उनले व्यवसायीले उद्योग तथा व्यवसायको विषयलाई लिएर आत्महत्याको बाटो रोज्नु मुलुककै लागि दुर्भाग्यको विषय भएको बताए।