काठमाडौं– मन्त्री बन्नका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा ढाकाकुमार श्रेष्ठको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो। श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।
सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश पनि गरेको छ। अल्पकालीन अन्तरिम आदेश जारी भएको र अन्तरिम आदेशका लागि सर्वोच्चले छलफलमा बोलाएकाले श्रेष्ठको सांसद पद तत्कालका लागि कायमै रहेको छ।
आफ्नो दल रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयलाई विपक्षी बनाउँदै श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
आफू स्वास्थ्यमन्त्री हुन लागेको र सभापति रवि लामिछानेको ‘कोर टिम’बाट पैसा मागिएको भन्दै उनले विवादित मेडिकल व्यवसायी दूर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।