काठमाडौं– मन्त्री बन्नका लागि घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद डा ढाकाकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
आफ्नो दल रास्ट्रिय स्वतन्त्र पार्टी र संसद् सचिवालयलाई विपक्षी बनाउँदै श्रेष्ठले वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए। श्रेष्ठले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइका लागि सोमबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी परेको छ। उक्त रिटको पालो ‘ढ’ नम्बरमा छ।
आफू स्वास्थ्यमन्त्री हुन लागेको र सभापति रवि लामिछानेको ‘कोर टिम’बाट पैसा मागिएको भन्दै उनले विवादित मेडिकल व्यवसायी दूर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।
समानुपातिक सांसद श्रेष्ठले घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई कारबाही गर्दै सांसद पदबाट हटाएको थियो। रास्वपाले कारबाही गरेको पत्र संसद्मा पेस गरेपछि संसद् सचिवालयले उनको पद रिक्त रहेको सूचना सार्वजनिक गरेको थियो।
रास्वपाले उनको स्थानमा विन्दाबासीनी कंसाकारको नाम सिफारिस गरेको छ। निर्वाचन आयोगले यस विषयमा कुनै निर्णय गरेको भने गरिसकेको छैन।
सर्वोच्चमा दायर गरेको रिटमा श्रेष्ठले आफूमाथि कारबाही हुने रास्वपाको निर्णय बदर हुनुपर्ने माग गरेका छन्। यस्तै, संसद् सचिवालयको निर्णय पनि बदर हुनुपर्ने उनको माग छ।