काठमाडौं - नेपाल तथा भारतका ख्याति प्राप्त मुटु चिकित्सकबीच टिएभीआर विधिको बारे अन्तरक्रिया कार्यक्रम भएको छ।
भारतको म्याक्स अस्पताल साकेतको आयोजनामा काठमाडौंमा नेपाल तथा भारतका चिकित्सक बीच टिएभीआर विधिको बारेमा अन्तरक्रिया कार्यक्रम भएको हो। भारतका वरिष्ठ मुटु रोग विशेषज्ञ डा बलबिर सिंह टिएभीआर विधिले मुटु शल्यचिकित्साका क्षेत्रमा ठूलो फड्को मारेको बताए। उनले आफू कार्यरत म्याक्स अस्पतालले केही समय अघिदेखि यो विधिबाट उपचार गर्दै आएको बताए।
उनले भने, ‘मुटुको चाल विकारको अवस्थामा धेरै प्रभावकारी हुने मुटुको क्रायोएब्सेलन हालैको एउटा यस्तो प्रगति हो। न्यूनतम इन्भेसिभ प्रक्रिया भएकाले, शल्यचिकित्सकहरुले मुटुको तन्तुहरु पत्ता लगाउन र फ्रिज गर्नका लागि पातलो लचिलो ट्यूबको प्रयोग गर्छन्।’
बिना शल्यक्रिया मुटुको भल्भ फेर्ने विधि ट्रान्सक्याथेटर एओर्टिक भल्भ रिप्लेसमेन्टलाई टिएभीआर विधि भनिन्छ। मुटु सम्बन्धी उपचार गर्ने धेरै अस्पतालहरुले यो विधि अपनाउन थालेका छन्।