काठमाडौं- शुक्रबार विश्व हात स्वच्छता दिवस मनाइएको छ। 'हात धोऔँ निरोगी बनौँ' भन्ने नाराका साथ यो दिवस मनाईएको हो।
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल, त्रिवी शिक्षण अस्पताल र इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल युनिटको सयुंक्त आयोजनामा त्रिवी शिक्षण अस्पतालमा उक्त दिवस मनाइएको हो।
कार्यक्रम नेपालमा हात स्वच्छताको अवस्था कस्तो छ भन्ने विषयमा चर्चा गरिएको थियो। त्यसैगरी अस्पतालहरुमा हात धुने ठाउँहरुको व्यवस्था हुनुपर्नेमा जोड दिईएको थियो। अस्पतालमा आउने बिरामी र बिरामी कुरुवालाई हात स्वच्छता दिवसको अवसरमा हात धुन समेत सिकाईएको थियो।
स्वास्थ्यकर्मी तथा अस्पतालमा कार्यरत कर्मचारीहरुले आवश्यकता र निश्चित मापदण्ड अनुसार हातको सरसफाई गर्नु जरुरी भएको इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालकी उपाध्यक्ष सृजना भोमीले बताइन्।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार ५० प्रतिशत स्वास्थ्य संस्थामा माग अनुसारको हात धुने ठाउँ र चर्पीको अभाव देखिन्छ। आवश्यक सामाग्री अभावका कारण विभिन्न जटिल संक्रमण तथा कडा खालका औषधि प्रयोग गर्नुपर्ने अवस्था र मृत्युदर समेत बढेको छ।
विश्व स्वास्थ्य संगठनले दिएको ‘फाइभ मोमेन्टस् अफ ह्याण्ड हाइजिन’ लाई सबै स्वास्थ्यकर्मीद्धारा अवलम्बन गर्न सकेमा स्वास्थ्य संस्थामा हुने संक्रमणदरलाई ५० प्रतिशतले घटाउन सकिन्छ।
सफा पानीले २० सेकेण्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरु बताउँछन्।