बागलुङ– गलकोट नगर अस्पतालमा बिहीबारदेखि अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ।
गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए।
स्थानीय नागरिकलाई अत्याधुनिक सुविधासहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसिन खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए।
गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमार्फत् १६ लाख मूल्य पर्ने उक्त अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलले जानकारी दिए।
उनले यसभन्दा पहिले अस्पतालमा म्यानुअल एक्सरेमार्फत् सेवा दिँदै आएकोमा अब भने सुविधा सम्पन्न डिजिटल एक्सरे मेसिनमार्फत् सेवा दिन थालिएको बताए।
डिजिटल एक्सरे मेसिनको सेवा सुरु भएसँगै अब भने अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गलकोट नगर अस्पतालले जनाएको छ। आज पहिलो दिन अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिनबाट ५ जनाले सेवा लिएका छन्।