काठमाडौं- नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतले तीनै तहका अस्पतालहरुको अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरेका छन्। मन्त्री बस्नेतले पदवहाली गरेलगत्तै स्वास्थ्यमा चार वटा निर्णय गर्दै अनुगमन समिति गठन गरेका हुन्।
मन्त्री बस्नेतले संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुको उपचारात्मक सेवा र उपलब्ध साधन स्रोतको उपभोग भए नभएको अनुगमन गर्न मन्त्रालयका अतिरिक्त सचिवको नेतृत्वमा अनुगमन समिति गठन गरेका हुन्।
'स्वास्थ्य सेवा प्रवाहका लागि संघ, प्रदेश र स्थानीय तहहरुमा रहेका अस्पतालहरुबाट भईरहेको उपचारात्मक सेवा र उपलब्ध श्रोत र साधन (औजार उपकरण) को अत्यधिक उपयोग भए, नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी माननीय मन्त्रीज्यू समक्ष प्रतिवेदन पेश गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहाय बमोजिमको अनुगमन समिति गठन गर्ने,' मन्त्री बस्नेतको निर्णयमा उल्लेख छ।
निर्णय अनुसार अतिरिक्त सचिवको नेतृत्वमा रहने उक्त समितिमा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख, प्रशासन महाशाखा प्रमुख, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक, उपचारात्मक महाशाखाका निर्देशक, व्यवस्थापन महाशाखाका निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक सदस्य रहेका छन् भने मन्त्रालयका डा गुणानिधी शर्मा सदस्यसचिव रहेका छन्।