काठमाडौं– नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि तत्काल चिकित्सकहरु पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय तह, प्रदेश र संघीय सरकारको समन्वयमा सो काम गर्ने मन्त्री बस्नेतको योजना छ।
बिहीबार पदभार ग्रहण गरेपछि मन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै उनले आफू कम सुतेर भए पनि मन्त्रालयको काममा खटिने बताए। मन्त्रालयका सम्पूर्ण टिमको बुद्धि, विवेक र प्रयासबाट मन्त्रालयको कामकारबाहीलाई माथि उठाउने मन्त्री बस्नेतको भनाइ छ।
उनले स्वास्थ्य सेवाको प्रक्रियालाई सरलीकृत गर्दै लैजाने बताए।
मन्त्री बस्नेतले भने, ‘स्वास्थ्य सेवाको प्रक्रियालाई पनि सरलीकृत गर्दै हामीले दुर्गमभन्दा दुर्गम ठाउँमा पनि चिकित्सकहरुलाई पनि स्थानीय तह, प्रदेश र संघको समन्वयकारी भूमिकामा प्रत्येक ठाउँमा प्रभावकारी ढंगले पुर्याउने भनेको कुरा पनि तपाईंहरुकै भनाइलाई हामीले सम्बोधन गर्न खोजेको हो। त्यसकारण हामी एकीकृत बुद्धि, विवेक र प्रयासबाट यो मन्त्रालयको गतिविधिलाई अगाडि बढाउन सकियोस्। मैले फेरि दोहोर्याउन चाहेँ– म चाँही कम सुते हुने मान्छे, बढि खट्न सक्ने मान्छे। म तपाईंहरु सबैको सुझाव लिएर आफ्नो समय बढीभन्दा बढी यो ठाउँलाई सदुपयोग गरेर म अगाडि बढने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु।’