रेसुङ्गा- गुल्मीमै बाङ्गाटिङ्गा हातखुट्टाको उपचार हुन थालेको छ। रेसुङ्गा नगरपालिकाको पहलमा गुल्मी अस्पतालमा यो सेवा शुभारम्भ भएको हो।
सेवाग्राही टुमाराम गिरी जिल्लामै उपचार पाएपछि खुसी छन्। उनले यही उपचारका लागि पाल्पा, बुटवल र काठमाडााैं जाने बाध्यता रहेकामा हाल नगरपालिकाले अस्पताललाई सहयोग गरेपछि उपचार गर्न सजिलो भएको बताए।
साथै सेवाग्राही जिवकला नेपालीले जन्मजात समस्या देखिएपछि पिरलोमा परेको बताइन्। हातखुट्टा बाङ्गाटिङ्गाको सहज उपचार जिल्लामै सम्भव रहेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा प्रदीप शिवाकोटीले बताए।
उनले हाडजोर्नीको समस्या हुँदा अब उपचारका लागि टाढा जान नपर्ने बताए। नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गरिरहको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले बताए।
“हाडजोर्नीको समस्या हुँदा पाल्पा जानुपर्ने अवस्था थियो” उनले भने, “गुल्मी अस्पतालमै उपचार पाएपछि गुल्मेली नागरिकलाई राहात मिलेको छ।” नगरपालिकाले गुल्मी अस्पतालाई मिर्गौला डायलाइसिस मेसिन प्रदान गरेको छ।