काठमाडौं- दार्चुलाको हिमपहिरोमा परी बेपत्ता भएका पाँच जनामध्ये १ जना पुरुष र २ दुई जना महिलाको शव फेला परेको छ। भेटिएका ३ जनाको शव बाहिर निकाल्ने प्रयास भइरहेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
हिम पहिरोमा पुरिएका दुहु गाउँपालिका, पोक्सेका १८ वर्षीय प्रवीण कुँवरको शव भेटिएको र महिलाको भने सनाखत हुन बाँकी रहेको छ। बेपत्ता दुई जना महिलाको अझै खोजी कार्य जारी रहेको थापाले बताए।
हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको नम्बर ५० गुल्म छाङ्रु दार्चुलाबाट डिएसपी ईश्वरी दत्त भट्टको कमान्डमा २१ जनाको टोलि गएको थियो।
बहुमूल्य हिमालिट जडिबुटी यार्सगुम्बा संकलन गर्न गएकाहरु हिमपहिरोमा परेका हुन्। दार्चुलाको ब्याँस गाउँपालिका–१ मा पर्ने भोलिन वनमा मंगलबार दिउँसो करिब ३ बजेतिर हिमपहिरो गएको थियो। पाल टाँगेर बसेका यार्सा संकलकहरु हिमपहिरोमा परेका थिए।