काठमाडौं- नेपालमा दुई वा दुईभन्दा बढी दीर्घ रोग तथा समस्या भएका व्यक्तिका विषयमा अनुसन्धान हुने भएको छ। नेपालमा नसर्ने रोगको भार बढ्दो क्रममा रहेको छ। त्यसमा पनि एकै व्यक्तिमा दुई वा त्योभन्दा बढी दीर्घ रोग तथा समस्याको अवस्था के छ? उनीहरुको उपचार तथा अन्य जाँच र औषधि लगायतका विषय कसरी कहाँ भइरहेको छ लगायतका विषयमा खोजी र अनुसन्धान सुरु भएको हो।
काठमाडौं विश्वविद्यालय अन्तर्गत काठमाडौं मेडिकल कलेजले बेलायतको नेशनल इन्स्टिच्युट फर हेल्थ एण्ड केयर रिसर्च (एनआईएचआर) को सहयोगमा यस्तो अनुसन्धान अगाडि बढाएको हो। उक्त अनुसन्धानमा पब्लिक हेल्थ फाउण्डेसन ईण्डियाले समेत सहकार्य गरेको छ।
नेपालमा पहिलो पटक सुरु भएको पाँच वर्षे यो परियोजनामा समुदायमा रहेका दुई वा दुईभन्दा बढी दीर्ग रोग तथा समस्या अर्थात 'मल्टिपल लङटर्म कण्डिसन' भएका व्यक्तिहरुका विषयमा अनुसन्धान हुने राजधानीमा बुधबार आयोजित कार्यक्रममा जानकारी दिइएको छ।
उक्त कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले नेपालमा दीर्घ रोगीहरुको अवस्था पहिचान गर्दै नीतिगत कामहरु अगाडि बढाउन उक्त अनुसन्धानले महत्वपर्ण भूमिका खेल्ने बताए। उनले नेपालमा नसर्ने दीर्घ रोगका बिरामीको संख्या धेरै बढीरहेको अवस्थामा दुईभन्दा बढी समस्या भएका बिरामीको अवस्था, उपचार लगायतका विषय पहिचान हुनु मन्त्रालय तथा सरकारका लागि थप काम अगाडि बढाउन सहयोग हुने जानकारी दिए।
'यो निकै राम्रो कामको सुरुवात हो,' उनले भने, 'नसर्ने रोगको भार बढीरहेको समयमा यसको नियन्त्रण तर्फ हामी सबैले सहकार्य गरेर अगाडि बढ्न जरुरी छ।' उनले अस्वस्थ जीवनशैली र खानपानका कारण एकैजनामा एकभन्दा बढी दीर्घ रोग बढीरहेकाले यसको नियन्त्रण तर्फ सबैले हातोमालो गर्न आवश्यक रहेको बताए।
कार्यक्रममा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले यो अनुसन्धानले नसर्ने रोगको जोखिममा रहेकाहरुको अवस्था सुधारमा यो अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्ने जानकारी दिए।
काठमाडौं मेडिकल कलेजका प्राडा अभिनव वैद्यले एकभन्दा बढी दीर्घ रोगका समस्या हुनेहरुमा उपचार प्रक्रियाका क्रममा भोग्नु परेको समस्या, आर्थिक भार, स्वास्थ्य अवस्था, समय लगायतका धेरै विषयमा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान बढी केन्द्रित हुने जानकारी दिए। उनका अनुसार यो अनुसन्धान सुरुमा भक्तपुर र काभ्रेमा नमुनाका रुपमा गरिनेछ। त्यसपछि क्रमश अनुसन्धान गर्ने क्षेत्र थप हुँदै जाने छ।
अनुसन्धानका क्रममा समुदायमा रहेका व्यक्तिहरुलाई नै रोगका विरुद्धमा काम अगाडि बढाउन नेतृत्वदायी तालिम समेत प्रदान गरिने उनले जानकारी दिए।
‘एकै व्यक्तिमा एकभन्दा बढी रोगहरुको हुँदा त्यसको असर के? आर्थिक भार बढी, उपचारको पहुँचमा समस्या, विभिन्न विशेषज्ञहरुलाई भेटनुपर्ने, समय पनि धेरै लाग्ने, धेरै नै दुख पाउने हुन्छ। यी तमाम समस्यालाई एड्रेस गर्नका लागि यो अनुसन्धान अगाडि बढाइएको हो,' उनले भने, 'यस क्रममा समुदायमा रहेका व्यक्तिलाई नै अगाडि बढाएर रोग विरुद्ध काम गर्न सक्ने लिडरसिप ट्रेनिङ पनि यसक्रममा हुन्छ।'
पाँच वर्षे यस अनुसन्धानका क्रममा ईलेक्ट्रोनिक डिसिजन सपोर्ट सिस्टम (ईडीएसएस)को पनि ट्रायल गरिने उनले जानकारी दिए। जसमा समुदायस्तरका स्वास्थ्यकर्मीलाई मल्टिपल लङटर्म कण्डिसनका बिरामीहरु आउँदा के उपचार गर्ने भन्ने बिषयमा सामान्य त निर्णय लिन सजिलो बनाउन सहयोग गर्दछ।
अनुसन्धानका विषयमा जानकारी दिएन आयोजित कार्यक्रममा सरोकारवालाहरुसँग बहु दीर्घ रोगका विषय सहित विद्युतिय मेडिकल रेकर्ड, टेलिमेडिसिन तथा प्रविधिका विषयमा छलफल समेत गरिएको थियो। उक्त छलफलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने रोग शाखाका प्रमुख डा फणिन्द्र बराल, भारतको पब्लिक हेल्थ फाउन्डेसनका डा शैलेश मोहन, काठमाडौं विश्वविद्यालयकी एसोसिएट प्रोफेसर डा अर्चना श्रेष्ठ, वीर अस्पतालका वरिष्ठ मेडिकल जेनेरलिस्ट डा उत्तम पच्या र पेन प्लस प्रोजेक्टकी डा सृष्टी सिंहले आ-आफ्नो धारणा राखेका थिए।