काठमाडौं- उम्मेदवारहरुको डाटा मेटिएपछि लोकसेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ। आज (बुधबार) बाट लागू हुने गरी आयोगले ३० दिनसम्ममा पुनः दरखास्त दिन आह्वान गरेको हो।
लोकसेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्तका लागि आह्वान गरिएको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए। उनले २०७९ मंसिर, पुस र माघ महिनामा स्वास्थ्य सेवा तर्फका सहित अन्य विभिन्न सेवा समूह अन्तर्गत प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेकाहरुले मात्रै दरखास्त भर्न पाउने र उनीहरुले दस्तुर शुल्क तिर्नु नपर्ने बताए।
यस पटक पनि ८० हजारभन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताउँदै उनले पहिला दरखास्त भरिसकेकाहरुको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको जानकारी दिए।
प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा असार ९ गते गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्ने गरी तयारी गरिरहेको पनि बताए। उनले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए।
उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साविकमा स्वीकृत भइसकेका दरखास्तहरु अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रवन्ध मिलाइएको छ ।