काठमाडौं- नेपालमा पहिलो पटक आयुर्वेद क्षेत्रका व्यक्तिहरुलाई विधागत रुपमा सम्मान गर्न थालिएको छ। आयुर्वेद मेडिकल डेभलपमेन्ट रिसर्च फाउन्डेसनले पहिलो पटक राष्ट्रिय आयुर्वेद अचिभमेन्ट अवार्ड ३७ जनालाई प्रदान गरेको हो।
काठमाडाैंमा आयोजना गरिएको समारोहमा उपराष्ट्रपति रामसहाय यादव र काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले उनीहरुलाई सम्मान प्रदान गरेका हुन्।
आयुर्वेदका लागि जीवनभर योगदान दिएका डा राम वृक्ष साहुलाई कश्यप सम्मान, डा रामनारायण शाहलाई चरक सम्मान र डा ऋषिराम कोइरालालाई धनवन्तरी सम्मान प्रदान गरिएको छ।
कार्यक्रममा डा ओममूर्ति अनिललाई स्वास्थ्य सेवामा उत्कृष्ट अन्तरक्षेत्रीय योगदान अवार्ड, प्रा वैद्य कतार सिंह धिमानलाई अन्तर्राष्ट्रिय आयुर्वेद व्यक्तित्व सम्मान र प्राडा देवबहादुर रोकालाई सर्वोत्कृष्ट आयुर्वेद क्लिनिकल अवार्ड प्रदान गरिएको छ।
त्यसैगरी डा निर्मल भूसाल, डा सुभद्रा कार्की, डा कोपीला अधिकारीलगायतलाई पनि फाउन्डेसनले सम्मान गरेको छ। आयुर्वेद क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई परिचित र उत्प्रेरित गराउने उद्धेश्यले सम्मान गरिएको फाउन्डेसनका अध्यक्ष डा विजेन्द्र शाहले जानकारी दिए।