विराटनगर- नोबेल शिक्षण अस्पतालको न्यूरो सर्जरी विभागले ७ औं वार्षिकोत्सवको अवसर पारेर न्यूरोभास्कुलर र न्यूरोक्रिटिकल सम्मेलन आयोजना गरेको छ। नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरिएको वर्षलाई आधार मानेर वार्षिकोत्सव मनाउँने क्रममा नेपाल र भारतका वरिष्ठ न्यूरो सर्जनहरुको सहभागितामा सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल र भारतका न्यूरो सर्जनहरुले एकापसमा अनुभव आदानप्रदान गरेका छन्। सो अवसरमा न्यूरो सर्जरी सम्बन्धी प्रयोगात्मक अभ्यास पनि गरिएको छ।
कार्यक्रममा नेपाल न्यूरो सर्जन सोसाइटीका अध्यक्ष वरिष्ठ न्यूरो सर्जन डा प्रविन श्रेष्ठले न्यूरो सर्जरीको वर्तमान अवस्था र भावी चुनौतीका विषयमा कार्यपत्र प्रस्तुत गरेका छन्।
कार्यक्रममा नोबेलको न्यूरो सर्जरी विभागका प्रमुख वरिष्ठ न्यूरो सर्जन डा प्रकाश काफ्लेले न्यूरो सर्जरी वभागको कार्यप्रगति प्रस्तुत गर्दै विभागमा हालसम्म करिब ३० हजार विरामीको उपचार र करिब ४ हजार विरामीको मस्तिष्क र मेरुदण्डको शल्यक्रिया गरिएको जानकारी दिए।
कार्यक्रममा सहभागीहरुलाई नोबेल मेडिकल कलेजका प्राचार्य प्राडा रामहरी घिमिरे र अस्पताल निर्देशक प्राडा राजेश नेपालले मन्तब्यमार्फत स्वागत गरेका थिए।
डा सुनिल शर्माले २०६२ सालबाट नोबेल अस्पताल सञ्चालन गरेका हुन्। नोबेलले २ अर्ब ४० करोडको लगानीमा दक्षिणपूर्वी एशियामै पहिलो पटक २०७३ सालबाट अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु गरेको हो।