काठमाडौं– वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट विजयी भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज (मंगलबार) प्रतिनिधि सभा सदस्यको शपथ लिने भएका छन्।
पूर्व स्वास्थ्यमन्त्री यादवलाई सभामुख देवराज घिमिरेले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउन लागेका हुन्। यादवको शपथ मंगलबार दिउँसो १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ।
वैशाख १० गते भएको उपनिर्वाचनबाटै निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र स्वर्णिम वाग्लेले शुक्रबार नै प्रतिनिधि सभा सदस्यको रुपमा पद तथा गोपनीयताको शपथ लिएका थिए। शुक्रबार काठमाडौं बाहिर रहेका कारण यादव शपथ लिन छुटेका थिए।
गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बारा २ बाट निर्वाचित जसपाका राम सहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन भएको थियो। वैशाख १० गते बारा २ सहित चितवन २ र तनहुँ १ मा पनि उपनिर्वाचन भएको थियो।
चितवन २ बाट रास्वपाका सभापति समेत रहेका लामिछाने र तनहुँ १ बाट रास्वपाका वाग्ले निर्वाचित भएका थिए।