काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालमा मानसिक स्वास्थ्य सेवाको आवश्यकता बढेको बताएका छन्। मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सीएमसी) को २० औं वार्षिकोत्सवमा बोल्दै उनले मानिसक स्वास्थ्यको विषय संवेदनशील भएको बताए।
'गएको एक दशकमा भूकम्प र कोरोना महामारीको कारणले गर्दा पनि मानसिक स्वास्थ्यको आवश्यकता झन् बढेको छ। मानसिक समस्या भएका बिरामीहरुलाई हेर्ने नकारात्मक र पुरातन दृष्टिकोणको कारण मानसिक स्वास्थ्यमा अझै बढी समस्या रहेको छ,' उनले भने।
देशका दुर्गम भेगमा बस्ने, राज्यको सेवा सुविधामा कम पहुँच भएकाहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सविच डा रोशन पोखेरले मानसिक स्वास्थ्यसम्बन्धी भ्रम निवारणलाई प्राथमिकतामा राखेर काम गरिनु आवश्यक भएको बताए। 'मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण जनचेतना र भ्रम निवारण हुनु आवश्यक छ। यसका लागि काम गर्न मन्त्रालयको सहयोग हुन्छ। अबका दिनमा मानसिक स्वास्थ्यको विषयलाई नछुट्याइ काम गरिनुपर्छ,'उनले भने।
आउने दिनहरुमा आतामहत्या रोकथाम र शहरी स्वास्थ्य विकास अन्तर्गत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्नेमा उनको जोड थियो।
त्यस्तै, सीएमसी नेपालका अध्यक्ष डा एसपी कलौनीले मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन आवश्यक भएको बताए। मानसिक तथा मनोसामाजिक सेवाहरुमा आम मानिसहरुको पहुंच बढाउनु पर्नेमा उनको जोड थियो।
सीएमसीले हालसम्म ५४ जिल्लामा मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न परियोजनाहरुमा काम गरिसकेको छ। 'स्वस्थ शरीर, स्वस्थ मन'को अभियानलाई आत्मसात गर्दै सन् २००३ मे १ मा सीएमसीको स्थापना भएको थियो।
सीएमसीले सुरुवातीदेखि आजका दिनसम्म मानसिक स्वास्थ्य सेवा तथा मनोसामाजिक सुस्वास्थ स्थापनाको लागि काम गर्दै आएको डा पशुपति महत बताउँछन्। आगामी दिनमा पनि संस्था मानसिक स्वास्थ्यको क्षेत्रम जनशक्ति व्यवस्थापन, उपचार र पुर्नस्थापना, जनचेतना, लैंगिक हिंसा र आत्महत्या रोकथाम केन्द्रित हुने उनले बताए।