काठमाडौं– आगलागीमा परी घाइते भएका कांग्रेस नेता तथा प्रतिनिधि सभाका सदस्य डा चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन्।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन्। उनी आज दिउँसो २:५५ बजेको नेपाल वायु सेवा निगमको जहाजबाट नेपाल फर्किएका हुन्।
उनको उपचार तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा भएको थियो। अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। उनी बोल्न र हिँड्नसमेत सक्ने भएका छन्।
सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। तर हरिकलाको भने उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो।
उनले अब आफू आगलागीका घटना न्यूनीकरणका लागि पहल थाल्ने बताएका छन्। आफ्नी आमाको किरियासम्म गर्न नपाएको भन्दै नेता भण्डारीले यस्ता घटना न्यूनीकरणका लागि योदान पुर्याएको दिन आमालाई सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। साथै उनले सातवटै प्रदेशमा एक/एकवटा बर्न अस्पताल निर्माणका लागि सरकारसँग माग गरेका छन्।