पञ्चायती व्यवस्थाको अनुयायी एकजना स्वास्थ्यमन्त्री भएका बेला उहाँको आमा वीर अस्पतालमा भर्ना हुनुभएको थियो। केही समय उपचार गरेपछि आमा डिस्चार्ज हुनुभयो। पछि त्यहाँ जाँदा त त्यो क्याबिनमा बेड नै छैन! डिस्चार्ज हुँदा उहाँले बेड पनि लिएर जानुभएछ। म छक्क परेँ।
दरबारसँग पनि उहाँको राम्रो सम्बन्ध थियो अनि विभागीय मन्त्री पनि भएकाले उहाँको दादागिरीको अगाडि कसैले बोल्ने आँटै गरेन। घरमा आमालाई सुताउन चाहिन्छ' भनेर कार्यालय सहयोगी र उहाँको मान्छेलाई अराएर अस्पतालको भीआईपी बेड गाडीमा हाल्न लगाउनुभएछ। मन्त्रीहरुले गर्ने यस्ता कैयौं कर्तुतहरु छन्, जो अरुलाई भन्न पनि लाज लाग्ने हुन्छ।
अस्पतालको अवस्था के छ, के-के गरिदिनुपर्ने हो? त्यसमा खासै वास्ता गर्दैनन्। आफू भर्ना भएका बेला कसै-कसैले 'म के गरिदिऊँ भनेर नसोध्ने पनि होइनन् तर काम गरिदिनुपर्ने बेलामा गरिदिँदैनन्। त्यसमा उनीहरुको निजी स्वार्थ अगाडि आइहाल्छ। 'आफूलाई के लाभ हुन्छ? त्यसतिर नै उनीहरुको ध्यान जान्छ। अस्पतालमा परिवर्तन ल्याउने, विकास गर्ने, जनतालाई सेवा-सुविधा वृद्धि गर्नेजस्ता परिणाममुखी काम उनीहरुको प्राथमिकतामा परेकोचाहिँ मैले अनुभव गरिन।
शहीद गंगालाल हृदय केन्द्रमा उपचार खर्च व्यहोर्न नसक्ने मानिसलाई निःशुल्क गरिदिने व्यवस्था पनि छ। स्थानीय निकायको सिफारिसमा निर्देशकले दिन सक्छन्। म त्यहाँको सञ्चालक भएको समयमा भइरहेको समितिको एउटा बैठकमा त्यस बेलाका निर्देशकले भनेको कुरा मलाई अझै याद छ।
एकजना व्यक्ति डाइरेक्टरकहाँ आएर 'मलाई निःशुल्क सेवा दिनुपर्यो भनेछ। त्यो मानिसले सुनको सिक्रीमात्र पाँच तोला जतिको लगाएको थियो रे! नाडीमा सुनको चुरा, औंलाभरि औंठी लगाएको थियो रे! डाइरेक्टरले उसलाई निःशुल्क सेवा दिन आनाकानी गर्दा मन्त्रीको फोन आएछ। डाइरेक्टरले 'यस्तो सम्पत्ति भएको मानिसलाई फ्री गर्न पनि तपाईंहरुले फोन गर्न मिल्छ र?' भनेछन्। पछि त्यो मानिसबारे बुझ्दा उसको त काठमाडौँमा घर नै चार-पाँचवटा भएको थाहा भएछ।
यस्ता मानिसलाई फ्री गर्न सरकारी अस्पतालहरुमा माथिबाट बरोबर दबाब आउने गर्छ। अनि चिकित्सकहरुबाट कसरी इमानदारिताका साथ काम गर्न सकिन्छ? कसरी वास्तविक पीडित वर्गलाई सेवा दिन सकिन्छ?
भीआईपीहरू भर्ना हुँदा धेरैले आफूलाई चाहिने ६ महिनादेखि वर्ष दिनसम्मको औषधि अस्पताललाई किनाई बोकेर जान्छन्। यस्ता घटना त बारम्बार भइरहन्छन्, मैले पनि भोगेकै छु।
यी आदि कारणले गर्दा सरकारी अस्पतालहरुको प्रतिष्ठा र विकासमा आँच पुगिरहेको छ। अस्पतालप्रति सहयोगी संस्थाहरु एवं सर्वसाधारणको आस्था, माया तथा सकारात्मक धारणामा ह्रास आइरहेको छ।
निःशुल्क सेवामा नेता नै हाबी
नेता तथा उच्च पदस्थहरु 'सरकारी अस्पतालमा जनतालाई निःशुल्क सेवा दिइने' भनेर भाषण गर्दै हिँड्छन् तर यस्तो सुविधाको न्यून अंशमात्र केहीले पाएका हुन्छन्। यो पाउन पनि उनीहरुले अनेक झन्झटको सामना गर्नुपरेको हुन्छ। भनेजति सबै विधि पुऱ्याएर पनि औषधि, उपकरण, बेड आदि छैन भनेर निमुखाहरु सेवाट वञ्चित हुनुपर्छ। यस्तोमा नेता तथा पहुँचवाला नै हाबी हुन्छन्। पार्टीको कुनै कार्यकर्ता आयो, पहुँचवाला व्यक्ति आयो भने उसलाई सबै सेवा निःशुल्क गर्छन्। अस्पतालका निर्देशक वा अस्पताल प्रमुखले नै सबै सेवा, वस्तु फलफूलसमेत अस्पतालले उपलब्ध गराउँछन्। औषधि उपचारमात्र होइन, खुवाउनुपर्ने हुन्छ। सरकारी अस्पतालमा त्यो हदसम्मको चाकरी गरेको मैले देखेको छु।
'स्वास्थ्य सेवा फ्री छ' भनेर नेताहरुले बोलेको कुरा के सत्य हो? सबै निःशुल्क हो त? होइन, खाली डाक्टरले दिने सेवा, नर्सले दिने सेवा, अस्पतालका साना कर्मचारीले दिने सेवा निःशुल्क छ। साधारण मानिसले औषधि पनि किन्नुपर्छ, अपरेसनको शुल्क तिर्नुपर्छ। क्याबिनमा बसे त्यसको पनि पैसा तिर्नुपर्छ। यस्तो सेवालाई निःशुल्क भनिन्छ त? यो त होइन नि! अनि किन नेताहरु झुट बोल्दै हिँड्छन्?
इमानदार मन्त्री, नेताहरूले जे छ त्यही भन्नुपर्छ। उनीहरू 'हामी यो-यो सेवा निःशुल्क गछौं, यो-यो सेवा निःशुल्क गर्न सक्तैनौं भन्न किन डराउंछन्? 'निःशुल्क सेवा' भनेर सबै कुरा किनाउने गर्दा पनि सरकारी अस्पतालको छबी बिग्रिरहेको छ।
सरकारी अस्पतालमा भर्ना भएका नेताहरुले सबै सेवा निःशुल्क लिन्छन्। एकजना कम्युनिस्ट नेता स्वास्थ्यमन्त्री भएका बेला उपचारका लागि वीर अस्पताल आउनुभएको थियो । उहाँ भीआईपी क्याबिनमा भर्ना हुनुभयो। त्यसलाई अन्यथा लिनुपर्ने केही छैन। भीआईपी क्याबिनमा एयरकुलर राखिएको थियो। कति भीआईपीहरु त्यहाँ आए, त्यही एयरकुलरले चली नै रहेको थियो। तर भर्ना भएर बस्नासाथ उहाँले चाहि ओहो! यहाँ त एसी पनि रहेनछ, यी डाक्टरहरुले मलाई मार्ने भए, ल-ल एसी राख्नुपर्यो' भन्नुभयो।
त्यो कुरा हामीलाई एकदमै चित्त बुझेन। उहाँ कस्तो हालतमा हुनुहुन्थ्यो, कसरी जीवन बिताउनुभएको हो, हामीलाई पनि थाहा छ। उहाँको पार्टीको सिद्धान्त के छ? त्यो पनि हामीलाई थाहा छ। जनताले कुन स्तरको सुविधा पाइरहेका छन्? त्यो पनि हामीले देखेका छौं। अनि उहाँलाई मन्त्री हुनेबित्तिकै कुलरले पनि नहुने, एसी नै चाहिने भो! यति ठूलो परिवर्तन? उहाँको त्यो थप सुविधाको माग हामी कसैलाई पनि चित्त बुझेको थिएन। तर अस्पतालका निर्देशक मन्त्रीको दबाबमा पर्नुभयो, भन्नासाथ एसी ल्याएर जडान गराउनुभयो।
मन्त्रीजी घाँटी खसखस भएर भर्ना हुनुभएको थियो। उपचार गर्ने डाक्टरचाहिँ म र अरु दुईजना थियौं। मैल भनें, 'घाँटी खसखस भएको छ, घाँटी दुखेको बिरामीलाई कहाँको एसी? एसी चलाउनुहुन्न भनेर बन्द गरिदिएँ।
'लौ मार्यो अब।' भन्नुभयो।
मैले भनेँ, 'तपाईलाई चिसो लाग्छ, एसी खोलेर हुन्छ? चुप लागेर आनन्दले बस्नुस्, गर्मी भयो भने पङ्खा खोलिदिउँला तर एसी त हुँदै हुँदैन।'
वास्तवमा घाँटी दुखेको मानिसले एसी चलाएर बस्न मिल्ने कुरा पनि थिएन।
(डा अवनिभूषण उपाध्यायको हालै प्रकाशित पुस्तक 'मुटुसँग सहयात्रा' को एक अंश)