काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले सहयोग गरेको भ्याक्सिन, चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा आपूर्तिहरूको लागि धन्यवाद दिएका छन्।
चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले चीन सरकारले आफूहरुलाई स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गरेको बताए। उनले चीन र नेपालको मित्रताले जनताको हितमा सहयोग गरेको समेत बताएका छन्। मित्रतालाई थप मजबुत बनाउनुपर्ने उनले बताए।
चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुर्ननिर्माण सहित शो कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।
प्रधानमन्त्रीले भने, 'म यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिन चाहन्छु।'
नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोग रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, 'हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ।
प्रधानमन्त्रीले निजामती अस्पताल दुई देशबीचको दशकौँदेखिको घनिष्ट सम्बन्धको प्रतीकका रूपमा पनि उभिएको उल्लेख गरे। स्वास्थ्य पूर्वाधार सिर्जना एवं विस्तार गर्न र स्वास्थ्य संस्थामा आवश्यक उपकरण र चिकित्सा सहयोगका लागि चीन सरकारले उपलब्ध गराएको चीनको सहयोग सह्रानीय रहेको उनको भनाइ छ ।
भरतपुरमा क्यान्सर अस्पताल निर्माणमा पनि चीनले सहयोग उपलब्ध गराएकामा चीन सरकारलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले यस क्षेत्रमा चीन सरकारबाट निरन्तर प्राप्त भएको साथप्रति आभार प्रकट गरे। चीनका विभिन्न विश्वविद्यालयमा नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीले अध्ययन गरिरहेको तथ्य पेश गर्दै प्रधानमन्त्रीले त्यहाँबाट फर्किएकाले यहाँ उत्कृष्ट सेवा गरिरहेकोमा प्रसन्नता व्यक्त गरे।
कोरोनाकालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “नजिकको छिमेकी र मित्रराष्ट्र चीनको यो उदारता र वास्तविक ऐक्यबद्धतालाई हामी सधैँ स्मरण गरिरहन्छौँ।” चीन र अन्य विकास साझेदारको सहयोगका कारण हामी महामारीका कठिनाइ पार गर्न सक्षम भएको प्रधानमन्त्रीको भनाइ छ।
कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको जस्तो सेवा सातवटै प्रदेशबाट दिनु पर्ने बताए। चीन सरकारले सबै प्रदेशमा निजामती अस्पताल जस्तै नमुना अस्पताल बनाउन सहयोग गर्ने अपेक्षा राखेको समेत उनले बताएका छन्।
त्यस्तै,सिभिल अस्पतालका निर्देशक विधान निधि पौडेलले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए। उनका अनुसार अस्पताललाई अतिविशिष्टिकृत बनाउँदै चिकित्सा विज्ञान प्रतिष्ठानको रुपमा स्थापना गरी विशिष्ट शिक्षण अस्पतालको रुपमा विकास गर्ने तयारी भईरहेको छ।
चीन सरकारको सहयोगमा नयाँ भवन निर्माण भएपछि पहिले १ सय ३२ वेडमा सञ्चालन भइरहेको उक्त अस्पताल अब ३ सय बेडको भएको छ।