नेपालगञ्ज- बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ।
भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पु¥याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराएका छन्।
सो रोगबाट जोगिने उपाय बिहेबारी पूर्व रगत जाँच गरी सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नुपर्ने डा पाण्डेको भनाइ छ। उनले यदि रोगी र बहाक फेला परे रोगी–रोगी र बहाक–बहाकका बीचमा हुने बिहेबारी रोके भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने उल्लेख गरे।
उनले रोगी र बहाकबीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिए। बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। उनले थारु समुदायमा सिकलसेल र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए। अन्य समुदायमा पनि उक्त रोग देखिए पनि थारु समुदायमा बढी रहेको उनको भनाइ छ।
सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभु चौधरीले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेकोमा जोड दिँदै थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारेसमेत जानकारी गराए।
कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले सिकलसेल र थालेसेमियाका बिरामीको नगरपालिकाले स्वास्थ्य बीमा गराउने बताए। आगामी आर्थिक वर्ष २०८०/८१ देखि बिरामीको पालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसको बीमाबापतको रकम पालिकाले तिर्ने उनी बताउँछन्।