काठमाडौं- मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंले १४ औँ वार्षिकोत्सव मनाएको छ।
अस्पताल परिसरमा एक कार्यक्रम गरी सेन्टरले आफ्नो १४ औँ वार्षिकोत्सव मनाएको हो।
कार्यक्रममा अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्राडा रत्नमणी गजुरेलले अस्पतालको विकास र सेवा विस्तारका लागि प्रभावकारी काम गर्ने बताए।
सेन्टरले कार्डियोथोरासिक भास्कुलर सेन्टरमा छुट्टै पहिचान बनाएको उनले बताए।
कार्यकारी निर्देशकको जस्तो महत्वपूर्ण पद अवसर र चुनौती दुवै भएको उनले बताए।
अस्पतालको विकासका लागि सबैको सहकार्य आवश्यक भएको बताउँदै उनले आफ्नो कार्यकालमा सहयोग र समन्वय गर्न आग्रह गरे।
अस्पतालका निवर्तमान कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले अस्पतालमा अत्याधुनिक उपकरणहरु भित्र्याउन सफल भएको बताए। बिरामीहरुले सर्वसुलभ रुपमा गुणस्तरीय सेवा यस सेन्टरबाट पाउने उनले बताए। अस्पतालको सेवा थप विस्तारका लागि पहल गर्न डा गजुरेललाई उनको आग्रह थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुषाल, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेशकुमार काफ्ले, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइराला लगायतको सहभागिता थियो।