काठमाडौँ- त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाहरुको नि:शुल्क शल्यक्रिया भइरहेको छ।
अस्पतालले अन्तर्राष्ट्रिय संस्था स्माईल ट्रेनको साझेदारीमा नि:शुल्क शल्यक्रिया गर्दै आएको अस्पतालका प्लास्टिक सर्जरी तथा वर्न विभागका प्रमुख डा जयनमान श्रेष्ठले बताए।
अस्पतालमा प्लास्टिक सर्जरी विभाग सुरु भएयता नै ओठ तथा तालु काटिएको बालबालिकाहरुको शल्यक्रिया हुने गरेता पनि केहि वर्षयता स्माईल ट्रेनको सहयोगमा नि:शुल्क हुने गरेको उनी बताउँछन्।
'यस्तो शल्यक्रिया यहाँ हुन थालेको त लगभग २० वर्ष भयो तर स्माईल ट्रेनको सहयोगपछि निःशुल्क हुन थालेको हो। स्माईल ट्रेनले लामो समययता हामीलाई सहयोग गर्दै आएकोमा बिचमा केहि समय रोकिएको थियो तर तिन वर्षयता पनि निःशुल्क शल्यक्रिया भईरहेको छ,' डा श्रेष्ठले भने।
उनका अनुसार जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाका आफन्तले बिदाको दिन बाहेक सोमबार र वुधबार बिहान र आईतबार र बिहिबार दिउँसो प्लास्टिक सर्जरी विभागको ओपिडीमा सम्पर्क गर्न सक्नेछन्।