काठमाडौं- शरीरका भित्री भाग नाइटोबाट बाहिर निस्किएको र झिल्लीले मात्रै छोपेको अवस्थामा जन्मिएकी शिशुको सफल शल्यक्रिया भएको छ।
आन्द्राभुँडी, कलेजोलगायत पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको लमजुङ अस्पतालले सफल शल्यक्रिया गरेको हो।
अस्पतालका सर्जन डा सुलभ राज भण्डारी लगायतका टिमले तिन दिन पहिले उक्त शल्यक्रिया गरेका हुन्। उनका अनुसार उक्त शल्यक्रिया गर्न करिब डेढ घण्टा लागेको थियो।
डा भण्डारीका अनुसार मेडिकल भाषामा यो समस्यालाई ओम्फालोसेल भनिन्छ। यो जन्मजात हुने समस्या हो। विश्वमा दश हजार मध्य १ जना बालबालिकालाई यो समस्या हुन्छ।
सिमित स्रोत साधनको कारणले लमजुङ अस्पतालमा यो शल्यक्रिया सम्भव नभएको तर बच्चाको अवस्था देखेर आफुहरुले हिम्मत गरेको डा भण्डारी बताउछन्।
'बच्चाको अवस्था निकै नाजुक थियो। हामीले त स्रोत साधन भएको ठाउँमै गएर शल्यक्रिया भए हुन्थ्यो भन्ने चाहेका थियौं तर उहाँहरुको आर्थिक अवस्था पनि निकै कमजोर थियो। त्यसकारण हामीले नै सिमित स्रोत साधनमा शल्यक्रिया गरियो,' उनले भने।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रमेशप्रसाद आचार्यका अनुसार नजवात शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।