काठमाडौं- किष्ट शिक्षण अस्पताल ललितपुरले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका वार्ड नं ६ निवासी दम्पती हुन्।
किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मिर्गौला प्रत्यारोपण गर्दै आईरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो।
नेपालमा प्राईभेट अस्पतालहरुमध्ये मिर्गौला र कलेजो दुवै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने किष्ट एक मात्र अस्पताल हो।
कलेजो प्रत्यारोपण कार्यमा अस्पतालले मल्टिडिस्क्लीपनरी एप्रोच अन्तर्गत नेपाल तथा भारतका वरिष्ठ ट्रान्सल्पान्ट सर्जन,ग्यास्ट्रो सर्जन, एनेस्थेसीयोलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्ट, ब्लडबैक, अपरेशन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरु गरि ४० जना परिचालित थिए।
उक्त शल्यकृया सम्पन्न गर्न भारत स्थीत ईन्दप्रस्थ अपोलो अस्पतालका डा निरभ गोयल डा अरुण कुमार भेनुथुरिमिल्लि र डा सञ्जिव अनेजाको सहभागी रहेको थियो भने प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्राडा मुकुन्द राज जोशी को नेतृत्वमा डा एकानन्द सिंह, डा वरुण श्रेष्ठ लगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोईन्टेरोलोजी विभागका सदस्यहरुको सहभागिता रहेको थियो। प्रत्यारोपण शल्यकृया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो।
कलेजो प्रत्यारोपण आफैमा जटिल हुनुका साथै निकै खर्चिलो समेत हुन्छ। राज्यले तोकेको कडा रोगहरुको सूचिमा कलेजो रोग समावेश नभएको हुदाँ कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुलाई आर्थिक सहयोगको कानूनी व्यवस्था हुन सकेको छैन। हाल सम्पन्न भएको प्रत्यारोपणमा अस्पतालका तर्फबाट सहुलियत दरमा सेवा उपलब्ध गराईएको थियो।
मुलुकले अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थाका गम्भीर बिरामीहरुको ठूलो चाप व्यहोरिरहेको अवस्थामा किष्ट शिक्षण अस्पतालले विगत २ वर्षमा जटिल उपकरण एवं दक्ष जनशक्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखी सर्वसाधारणलाई यो सेवा सहज रुपमा दिन आफूलाई अङ्ग प्रत्यारोपणको एक केन्द्रको रुपमा स्थापित गरेकोछ।
शरीरमा पाचन प्रकृया तथा अन्य धेरै शारिरिक प्रणालीहरु सुचारु रुपले संचालन हुनमा कलेजोको अत्यन्त महत्वपूर्ण योगदान हुन्छ, साथै यसको रक्त संचार प्रणाली जटिल प्रकारको रहेको हुन्छ। विभिन्न कारणले कलेजो बिग्रिदै गएमा शरीरमा विभिन्न जटिल समस्याहरु आउने र यसले गर्दा बिरामीको ज्यान खतरामा पर्ने जानकारी प्राडा सिताराम चौधरीले दिए।
प्राडा मुकुन्द राज जोशीका अनुसार यस्तो अवस्थाका बिरामीलाई स्वस्थ कलेजो भएका आफन्त दाताहरुबाट कलेजोका केहि भाग झिकेर बिरामीको बिग्रिएको कलेजो निकालिएको ठाउँमा नै प्रत्यारोपण गरिन्छ। उक्त प्रकृयालाई शल्यकृया क्षेत्रमा नै अत्यन्त जटिल, जोखिमयुक्त तथा महत्वपूर्ण उपलब्धिको रुपमा लिइने गरिन्छ।