काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले संसदमा विभिन्न समयमा आफूहरुले प्रश्न उठाउने तर त्यसको जवाफ नआउने भइरहेको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएकी छिन्।
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै मंगलबार उनले सात दिनभित्र सरकारले जवाफ दिने भनी नियमावलीमा कुरा उठाएको तर सरकारले जवाफ नदिएको बताइन्।
‘हामी संसदमा प्रश्न उठाउँछौ तर उत्तर आउँदैन। सात दिनभित्र मन्त्रीले जवाफ दिने कुरा छ तर कहिल्यै आएन,’ उनले भनिन्, ‘ललितपुरका कुरा आफूले संसदमा उठाएको तर जवाफ नआएको टिप्पणी गरिन्। उनले आफूले समस्यासहित समाधानसमेत दिने भन्दै उठेका कुराहरु प्रतिनिधि सभाको वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरिन्।
यसैगरी कांग्रेस सांसद दीपक गिरीले पनि डा कार्कीको उक्त कुरामा सहमति जनाएका छन्। सम्बन्धित विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने विषयलाई महत्व दिनुपर्ने उनले बताए। उनले त्यो प्रक्रिया वैज्ञानिक बनाउनुपर्ने पनि उनले उल्लेख गरेका छन्।