काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निस्कासन गरिएको सूचना संसद्मा जानकारी गराइने भएको छ।
सभामुख देवराज घिमिरेले उक्त सूचना जानकारी गराउने कार्यसूचीमा राखिएको छ। मन्त्री बन्न २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो।
सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछाने निकटस्थहरुलाई २ करोड बुझाउनुपर्ने बताएका थिए। त्यसका लागि उक्त रकम माग गरेको अडियोमा सुनिन्छ।
उक्त अडियो श्रेष्ठकै रहेको छानविनबाट थाहा लागेपछि रास्वपाले पार्टी र सांसदबाट निस्कासन गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो।
श्रेष्ठका ठाउँमा विन्ध्यवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय रास्वपाले गरिसकेको छ।