काठमाडौं- काठमाडौं महानगरपालिका मेयर बालेन शाहले, सर्वोच्च अदालतले सिंहदरबार समेतको फोहरमैला उठाउन दिएको अन्तरिम आदेश कार्यान्वयनका लागि आफू तयार रहेको बताएका छन्।
सोमबार सामाजिक सञ्जाल मार्फत मेयर शाहले फोहरमैला नउठेको सम्बन्धमा अदालतले दिएको अन्तरिम आदेश प्राप्त भएको भन्दै अदालतको आदेश पालनाका लागि आफू तयार रहेको बताएका हुन्।
तर अदालतका फैसला, आदेश र निर्देशनहरु काठमाडौँ महानगरले मात्रै नभएर संघीय सरकार लगायत सबैले दृढतापूर्वक पालना गर्न आवश्यक भएको उनको भनाई छ।
स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी रहेको उनले बताए।
उनले लेखेका छन्, ‘बागमती, बिष्णुमती र मनोहरा तथा यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउने तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने सम्बन्धी २०७६ साउन २० गतेको सर्वोच्च अदालतको आदेश, स्वास्थ्य मन्त्रालय भवनको मौलिकता बिगारेर थपिएको संरचना भत्काउने सम्बन्धी २०५७ असार ९ गतेको सर्वोच्च अदालतको आदेश, तीनकुने जग्गा अधिग्रहण तथा मुअब्जा सम्बन्धी २ दशक अगाडिको सर्वोच्च अदालतको आदेश लगायत आम महानगरवासीको पक्षमा सम्मानित सर्वोच्च अदालतबाट भएका विभिन्न आदेशहरुको पालना नभएको बिषयमा पनि सम्बन्धित सबैले उत्तिकै जिम्मेवारीबोध गर्न जरुरी छ। अन्यथा, नागरिकको घरआँगन र सिहंदरबारको पटाङ्गिनीबिचको विभेदलाई बैधानिकरुपमा नै स्विकारेको अर्थ लाग्ने देखिन्छ।’