दाङ- दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ। यस वर्ष जिल्लामा २ लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार ५३० किलो निकासा भएको छ।
यसपछि टिमुर ५३ हजार ५८६ किलो निकासा भएको छ। काउलो २१ हजार ८७५ किलो, रिठा १४ हजार २०० किलो, मालागेडी १३ हजार ५०० किलो निकासा भएको छ भने तेजपात ५ हजार ५०० किलो, दालचिनी ७ हजार १४५ किलो, मालागेडी ५ हजार किलो निकास भएको छ। जसमा निजी वनबाट १ लाख ९४ हजार ३३६ किलो र राष्ट्रिय वनबाट २९ हजार ७०० किलो गरी २ लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ।
दाङबाट बितेको १ वर्षमा करीब साढे ४ लाख किलो जडीबुटी निकासा भएको थियो। डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट ४ लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो।
वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी संकलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी संकलनको राजस्व पूर्णरूपमा छुट गरिएको छ। निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए।