काठमाडौं- आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौंले ५० शय्याको जेरियाट्रिक सेन्टर स्थापना गर्ने योजना बनाएको छ।
अल्जाईमर, पार्किन्सस, पक्षघात लगायत रोगहरुको सघन उपचार तथा व्यवस्थापनका लागि ५० शय्याको जेरियाट्रिक सेन्टर स्थापना गर्ने योजना रहेको चिकित्सालयको योजना छ। आफ्नो १०६ औँ स्थापना दिवसको अवसरमा निर्देशक डा प्रदीप केसीले सरकार वा कुनै संस्थाबाट सहयोग प्राप्त भए उक्त सेन्टर स्थापना गरिने बताए।
उनले भने, ‘जेरियाट्रिक सेन्टर निर्माणको लागि विभिन्न निकायलाई आग्रह गरिरहेको छु। सहयोग प्राप्त हुने बित्तिकै निर्माण सुरु गर्छौ।’
आफूहरुलाई प्रोत्साहित हुने खालका कुनै पनि किसिमको तालिम तथा अभिमुखिकरण कार्यक्रम सरकारले नगरेको उनको गुनासो छ। हालसम्म चिकित्सालयको वैज्ञानिक तरिकाबाट ओएनएम सर्भे नगरेको नभएको उनले बताए।
अस्पतालको वृद्धि विकासका लागि संगठन र व्यवस्थापन सर्वेक्षण निकै महत्वपूर्ण भएपनि हालसम्म नभएको उनले बताए। चिकित्सालयको अन्तरंग भवनमा वर्खामा पानी चुहिने समस्या समेत रहेको उनले बताए।
कार्यक्रममा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा अन्तर्गतको सामाजिक स्वास्थ्य सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गेलालले आयुर्वेदको सेवा बारे थप प्रचार प्रसार गर्न आवश्यक रहेको बताए। अस्पतालको सेवाहरु समुदायस्तरमा पनि शिविर मार्फत लैजान उनको सुझाव छ।
केन्द्रीय कारागार अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश बुढाथोकीले आयुर्वेदको विकासका लागि सम्बन्धित निकाय र संगठनसँग सहकार्य गर्न सुझाव दिएका छन्। साथै अस्पतालकै सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउन उनको आग्रह छ।
विस १९७३ सालमा स्थापित यो आयुर्वेद चिकित्सालय १९७४ सालमा नरदेवीमा स्थानान्तरण भएको थियो। ९ रोपनी जग्गामा फैलिएको यो चिकित्सालयमा एक सय शय्या र १८ क्याबिन सञ्चालित छ। स्थायी, करार र विकास समिति गरी कुल १२५ जना कर्मचारी छन्।